कारोबार


तरलता फालाफाल हुँदा बैंकहरूले किन घटाए राष्ट्र बैंकमा राख्ने निक्षेप?

तरलता फालाफाल हुँदा बैंकहरूले किन घटाए राष्ट्र बैंकमा राख्ने निक्षेप?

सम्झना घिमिरे
फागुन २०, २०८१ मंगलबार ११:७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने मौद्रिक औजारमध्ये एक हो निक्षेप संकलन।

तर पर्याप्त तरलता हुँदा समेत बैंक तथा वित्तीय संस्थाहरूले यसको बोलकबोलमा सहभागिता घटाउँदै लगेका छन्।

उदाहरणका लागि, आइतबार मात्रै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रकम तान्न खोज्यो। तर उक्त परिमाणमा केन्द्रीय बैंकमा निक्षेप राख्न बैंकहरू तयार भएनन्। त्यसपछि राष्ट्र बैंकले बजारबाट १४ अर्ब ७० करोड रुपैयाँ मात्रै संकलन गर्न सक्यो।

यसअघि फागुन १३ गते पनि राष्ट्र बैंकले २५ अर्ब माग गर्दा बजारबाट ९ अर्ब ८० करोड रुपैयाँ मात्रै संकलन भएको थियो। यी दुवै दिन राष्ट्र बैंकले चाहेको निक्षेप संकलन गर्न सकेन। किन कि उसले माग गरेभन्दा कम रकम वाणिज्य बैंकहरूले राखे।

यसरी निक्षेपमार्फत राष्ट्र बैंकले आह्वान गरेभन्दा कम रकम संकलन हुँदै आएको छ। 

एक महिनायता बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकले जारी गर्ने निक्षेप संकलन नामक मौद्रिक औजारमा लगानी घटाउँदै आएका हुन्। 

राष्ट्र बैंकका अनुसार माघ १० गते ४० अर्ब रकम तान्न खोज्दा बोलबोकलबोलमा बैंकहरूले १८ अर्ब १५ करोड मात्रै राखेका थिए। माग गरेभन्दा कम रकम बोलकबोलमा परेपछि राष्ट्र बैंकले निक्षेपमा राख्न चाहेको सबै पैसा खिच्दै आएको छ।

माघ १० देखि फागुन १८ गतेसम्म १४ पटक राष्ट्र बैंकले बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट ५ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न चाहेको थियो। तर बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ७ अर्ब रुपैयाँ मात्रै रकम बोलकबोलमा राखेका छन्। जुन माग गरेभन्दा ३०.४० प्रतिशत कम रकम हो।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ७९.६९ प्रतिशत छ भने वाणिज्य बैंकहरूसँग मात्रै करिब ८ अर्ब बराबरको तरलता छ। यसलाई बैंकहरूले कर्जामा लगानी गर्नुपर्ने हुन्छ।

राष्ट्र बैंकले बोलकबोलमार्फत २८ दिनेमा २.९३ प्रतिशत, ९१ दिनेमा २.८९ प्रतिशत, १८२ दिनेमा २.९८ प्रतिशत र ३६४ दिनका ३ प्रतिशत ब्याजसहित बोलकबोलबाट निक्षेप संकलन गर्दै आएको छ। 

बैंक तथा वित्तीय संस्थाहरूको कर्जायोग्य लगानीबापतको रकम बढी हुँदा तरलता व्यवस्थापनस्वरुप केन्द्रीय बैंकले बैंकहरूलाई आर्थिक भार नपार्ने उद्देश्यले ब्याज दिएर तरलता प्रशोचन गर्ने गर्छ।

न्यून ब्याजमै भए पनि आम्दानी हुने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले आफूलाई आवश्यक पर्ने पैसा राखेर बाँकी रहेको पैसा राष्ट्र बैंकको निक्षेपमा जम्मा गर्ने गर्छन्।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको मौज्दात रकमको अवस्था हेरेर तरलता प्रदान र प्रशोचन दुवै गर्छ। 

पछिल्लो एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूमा तरलता फालाफालको अवस्था र्सिजना हुन थालेपछि केन्द्रीय बैंकले निरन्तर निक्षेप उपकरणमार्फत रकम खिच्दै आएको छ।

तर माघ लागेयता बैंकहरूले बोलकबोलमार्फत राष्ट्र बैंकमा निक्षेप घटाउँदै लगेका हुन्।

राष्ट्र बैंकका मौद्रिक व्यवस्थापन विभागका उपकार्यकारी निर्देशक पिताम्बर भण्डारी बोलकबोलमा बैंकहरूको सहभागिता घट्न थालेको स्वीकार्छन्।

उनी भन्छन्, ‘बोलकबोलमा सहभागी नै कम हुन थालेपछि राष्ट्र बैंकले अहिले निक्षेप संकलनको आकार घटाउँदै लगेको छ।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न मौद्रिक औजार प्रयोग गरेर रकम खिच्ने गर्छ। जसमा बोलकबोलमार्फत निक्षेप संकलन र स्थायी निक्षेप सुविधामार्फतको संकलन प्रमुख मानिन्छ।

माघयता दुवै निक्षेपमा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता घट्दै गएको हो। उपनिर्देशक भण्डारीले एसडीएफ र बोलबोलको निक्षेप संकलनको आकार करिब १ खर्बले घटेको बताए।

उनी भने, ‘यसअघि हामीले औसतमा ३५० अर्ब रकम निक्षेप उठाउँदै आएकोमा अहिले २३५ अर्ब मात्रै उठाउन थालेका छौँ।’ 

निक्षेपमा पैसा ‘लङटर्म होल्ड’ गर्न चाहँदैनन् बैंकर
बोलकबोलमार्फत निक्षेपमा पैसा राख्दा बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम २८ दिनदेखि अधिकतम २६४ दिनसम्म ‘होल्ड’ गर्नुपर्ने हुन्छ। 

त्यस्तै एसडीएफमा राख्दा भने बैंकहरूले ४ दिनमै फिर्ता पाउन सक्छन्। ३ प्रतिशत ब्याजमा अहिले राष्ट्र बैंकले आइतबार र बुधबार निक्षेप संकलन गर्दै आएको छ भने चार दिनमै भुक्तानी पनि गर्दै आएको छ। 

गत वर्षबाटै सञ्चालनमा आएको एसडीएफमा बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप बढाएका छन्। समग्रमा निक्षेप घटाए पनि बोलकबोलको तुलनामा भने एसडीएफमा निक्षेप राख्ने बढेका छन्।

कर्जा प्रवाह हुने आशामा बस्दा बैंकहरूले लामो अवधिको निक्षेप पैसा राख्न नचाहेको राष्ट्र बैंकका पूर्वनिर्देशक नर बहादुर थापा बताउँछन्।

‘गत वर्षको तुलनामा अहिले कर्जा ग्रोथ बढेको छ, यसले कर्जा प्रवाह गर्न सकिन्छ कि भन्ने आशामा बैंकहरू रहँदा निक्षेपमा रकम राख्न हिच्किचाइरहेका हुन्’, उनले भने, ‘निक्षेपको पैसा ४ दिनका लागि मात्रै भए पनि एसडीएफमा राखेर बसेका छन्।’

खासमा ‘अक्सन’मा बैंकहरूलाई कहिले बैंकले ‘अक्सन’ राख्छ भन्ने थाहा हुँदैन। यसले बैंकहरू आफूसँग भएको निक्षेप बोकेर ‘अक्सन’ पर्खिनुपर्ने हुन्छ।

एसडीएफमा भने चाहेको समयमा ३ प्रतिशतको ब्याजमा आइतबार र बुधबार बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको निक्षेपमा राख्न सक्छन्। ब्याजदर पनि तुलनात्मक रुपमा एसडीएफमा धेरै हुनाले पनि लगानीकर्ता बैंक तथा वित्तीय संस्था बोलकबोलबाट सिफ्ट भएको थापा बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad