कारोबार


आयात र उद्योगधन्दामा बढ्न थाल्यो कर्जा प्रवाह, लक्ष्य अझै टाढा

आयात र उद्योगधन्दामा बढ्न थाल्यो कर्जा प्रवाह, लक्ष्य अझै टाढा

सांकेतिक तस्बिर (एआई)


सम्झना घिमिरे
माघ २१, २०८१ सोमबार १४:५७, काठमाडौँ

कर्जा लगानी गर्न नसकेको गुनासो बैंकरले गरिरहँदा कर्जा प्रवाहको अवस्था सुधारोन्मुख रहेको तथ्यांकले देखाएको छ। 

केन्द्रीय बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणले बैंक तथा वित्तीय क्षेत्रबाट जाने कर्जा प्रवाहको अवस्था गत वर्षको तुलनामा बलियो बन्दै गएको देखाएको हो।

यो अवधिमा कुल २ खर्ब ६७ अर्ब बराबरको ऋण प्रवाह भएको हो। 

गत वर्ष पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५० खर्ब ८३ अर्ब बराबरको कर्जा प्रवाह गरेका थिए। चालू आवको सोही अवधिमा बैंकहरुको कर्जा लगानीको हिस्सा बढेर ५४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको हो।

गत असारसम्म भने यस्तो कर्जा ५१ खर्ब ६७ अर्ब प्रवाह भएको थियो । तुलनात्मक रुपमा चालू आवको ६ महिनामा बैंकहरुको कर्जा लगानी ५.२ प्रतिशतले बढेको छ। गत वर्ष सोही अवधिमा बैंकहरुको कर्जा लगानी वृद्धिदर ४.२ प्रतिशत थियो। 

चालू आवमा सरकारले १२ प्रतिशतको कर्जा वृद्धिको अपेक्षा राखेको छ। 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट जाने कर्जामध्ये सबैभन्दा धेरै आयात क्षेत्रमा गएको छ। सरकारले चालू आर्थिक वर्षबाटै आयातलाई खुकुलो बनाउँदै लगेपछि त्यसको प्रभाव आयाततर्फ जाने कर्जामा देखिएको हो। 

पछिल्लो ६ महिनामा आयातसँगै निर्यात पनि बढ्न थालेपछि यो क्षेत्रमा सुस्तै गतिमा भए पनि कर्जाको माग बढ्न थालेको देखिन्छ।

पुस मसान्तसम्म यो क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी १ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ५६ प्रतिशतले बढी हो। 

यस्तै चालू आवमा औद्योगिक क्षेत्रमा जाने कर्जाको हिस्सा पनि उल्लेख्य बढेको छ। माग तथा चालू पुँजी कर्जा शीर्षकमा चालू आवको ६ महिनामा ८९ अर्ब कर्जा प्रवाह भएको छ। जुन १२.३ प्रतिशतले बढेको हो। बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी यस क्षेत्रमा ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। 

यता सेयर खरिदका लागि जाने कर्जा प्रवाहको अवस्था पनि गत वर्षभन्दा यो वर्ष सुधारोन्मुख देखिएको छ। चालू आवको दोस्रो त्रैमासिकसम्म यस्तो कर्जा २६.३ प्रतिशतले बढेको छ। 

गत आवको पुसमा लगानीकर्ताले ९० अर्बबराबरको मार्जिन ऋण लिएकामा चालू आवमा २३ अर्ब बढी पुगेको छ। समग्रमा पुस मसान्तसम्म आइपुग्दा मार्जिन ऋणतर्फ बैंक तथा वित्तीय क्षेत्रको लगानी २६.३ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब पुगेको छ। 

यो बीचमा १० करोडमाथिको ऋण लिनेको ३४.९ प्रतिशतले बढेको छ। 

योबाहेकका क्षेत्रहरु बिल्स पर्चेजतर्फ ६.७ प्रतिशतले कर्जा बढ्दा आवधिक कर्जा (टर्म लोन) ३.१ प्रतिशत, क्यास क्रेडिट लोन ४.७ प्रतिशत, व्यक्तिगत घरकर्जा ३.९ प्रतिशत र घरजग्गामा २.१ प्रतिशतले कर्जा प्रवाह बढेको छ। 

योबाहेक सवारीसाधन खरिद कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्दा ओभरड्राफ्ट कर्जा प्रवाह भने ९.८ प्रतिशतले घट्न पुगेको छ। 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा १२.५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ। 

गत वर्ष ११.५ प्रतिशको कर्जा वृद्धिको अपेक्षा राखेकोमा निजी क्षेत्रमा जाने कर्जा ६ प्रतिशतले मात्रै वृद्धि भएको थियो। चालू आवमा ६ महिनामै यस्तो वृद्धिदर ५ प्रतिशत माथि पुगेको हो। 

सरकारले चालू आवको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको थियो। सोही वृद्धिलाई सहयोग पुर्‍याउने गरी राष्ट्र बैंकले कर्जा प्रवाहको लक्ष्य गत वर्षभन्दा बढाएर १२.५ प्रतिशत राखेको थियो। 

अर्थतन्त्रमा सुस्तताका बीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा प्रवाहमा सहजता ल्याउन नीतिगत व्यवस्था गर्दै आएको छ भने ब्याजदर पनि घटेर सीमामा आइपुगेको छ। 

कर्जा असुलीमा समस्याका कारण पुँजीकोषमा दबाब पर्दा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहलाई बढाउन सकेका थिएनन् भने माग नबढ्दा कर्जा लिन आउने ग्राहक पनि अपेक्षित थिएनन्। 

चालू आवको दोस्रो त्रैमासिकमा भने कर्जा प्रवाहको अवस्था आशलाग्दो देखिएको हो।

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad