कुनै समय ग्ल्यामर दुनियाँमा रमाएकी अभिनेत्री ममता कुलकर्णी अहिले सन्न्यासी बनेकी छन्।
वर्षौंदेखि फिल्म क्षेत्रबाट टाढा रहेकी उनी २४ वर्षपछि भारत फर्किइन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी त्यत्रो वर्ष केन्यामा बसिन्।
भारत फर्किनासाथ उनले प्रयागराजमा जारी महाकुम्भ मेलामा पुगेर सन्न्यास लिइन्। यसपछि उनलाई किन्नर अखाडाको महामण्डलेश्वर पदमा नियुक्त गरियो।
तर त्यहाँका सन्तहरूले कडा आपत्ति जनाए। यसपछि किन्नर अखाडाका संस्थापक ऋषि अजय दासले उनलाई यो पदबाट बर्खास्त गरे।
यसैबीच किन्नर अखाडाको महामण्डलेश्वर ममता १० करोड रुपैयाँ तिरेको आरोप बाहिरियो।
यस्तो आरोप लागेपछि ममताले मौनता तोडेकी छन्।
ममताले आपकी अदालत’ कार्यक्रममा भनिन्, ‘मसँग १० करोड त परको कुरा, १ करोड पनि छैन। सरकारले मेरो बैंक खाता जफत गरेको छ। तपाईंहरूलाई थाहा छैन म कसरी बाँचिरहेकी छु! मसँग पैसा छैन। मेरो आँसु त्यसै निस्केको होइन। मैले धेरै त्याग गरेको छु। गुरुजीलाई दक्षिणा दिनुपर्ने भएकाले मैले कसैबाट २ लाख रुपैयाँ सापटी लिएँ।’
ममताले आफ्ना तीनवटा अपार्टमेन्ट जीर्ण अवस्थामा रहेको बताइन्। किनभने ती २३ वर्षदेखि बन्द रहेको उनको भनाइ छ।
भारत फिर्ताबारे उनले भनिन्, ‘म २३ वर्षदेखि भारत आएको थिइनँ। मलाई आरोप लगाउने व्यक्तिविरुद्धको अदालती मुद्दा सकिएपछि मात्र भारतमा पाइला टेक्छु भन्ने निर्णय गरेकी थिएँ। प्रचारका लागि ममता कुलकर्णीको नाम मुद्दामा समावेश गरिएको थियो। मैले २३ वर्ष तपस्या गरेको छु। मैले ३ महिनासम्म खाना खान छोडेकी थिएँ। हठयोग पालना गरेर मैले आदिशक्तिलाई मेरो अगाडि उपस्थित हुन बाध्य पारेकी थिएँ। मैले आदिशक्तिलाई भनेँ- तिमी नआएसम्म म खाना खाने छैन। म ५ दिनसम्म पानीसमेत नपिई बसेँ। १५औँ दिनमा भगवतीको दर्शन पाइयो।’
ममता बलिउडकी पूर्वअभिनेत्री हुन्। उनले १९९२ मा फिल्म तिरंगाबाट डेब्यु गरेकी थिइन्। उनका हिट चलचित्रमा वक्त हमारा है, क्रान्तिवीर, करण अर्जुन, सबसे बडा खिलाडी, बाजी हुन्। सन् २००० देखि भने उनले फिल्म क्षेत्र छाडिन्।
Shares

प्रतिक्रिया