ad ad

कारोबार


२ वर्षयता खस्कियो यी १० शीर्षकमा बैंक तथा वित्तीय संस्थाले दिने सहुलियत ऋण

२ वर्षयता खस्कियो यी १० शीर्षकमा बैंक तथा वित्तीय संस्थाले दिने सहुलियत ऋण

नेपालखबर
भदौ ५, २०८१ बुधबार १८:०, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरुले दिँदै आएको सहुलियतपूर्ण ऋणको अवस्था खस्किँदै गएको छ।

अनिवार्य गरिएको १० वटा शीर्षकमा प्रवाह भएको यस्तो कर्जाको अवस्था दुई वर्षयता कमजोर बनेको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब २६ अर्ब रुपैयाँबराबरको सहुलियत ऋण प्रवाह गरेका छन्। यो पछिल्लो २ वर्षयताकै कम हो। 

आर्थिक वर्ष २०७८/७९ मा कुल २ खर्ब १३ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ९७ अर्ब रुपैयाँ प्रवाह गरेका थिए। 

अनिवार्य रुपमा १० वटा क्षेत्रमा सहुलियतपूर्ण ऋण प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुले १० शीर्षकमा सर्वसाधारणलाई यस्तो ऋण उपलब्ध गराउँदै आएका छन्। तर यस्तो ऋणको आकार भने पछिल्लो ३ वर्षयता निरन्तर घटिरहेको छ। 

गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २६ अर्बबराबरको मात्रै सहुलियतपूर्ण कर्जा प्रवाह गरेका हुन्। यो अघिल्लो वर्षको तुलनामा ७० अर्ब रुपैयाँले कम हो।

बैंक तथा वित्तीय संस्थाले सहुलियत ऋणअन्तर्गतको सबै शीर्षकमा जाने ऋणलाई घटाएका हुन्। 

कुन शीर्षकमा कति प्रवाह?
यसअनुसार कृषि शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा आथिर्क वर्ष २०७९/२०८० मा १ खर्ब ३५ अर्ब मात्रै ऋण प्रवाह भएको छ भने आर्थिक वर्ष २०८०/०८१ मा घटेर ८६ अर्ब रुपैयाँमात्रै ऋण प्रवाह भएको छ। 

सरकारले उपलब्ध गराउने भनिएको शिक्षित युवा स्वरोजगार शीर्षकको अवस्था पनि उस्तै छ। यो शीर्षकमा आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरुले ७६ करोड रुपैयाँ ऋण प्रवाह गरेकोमा आव २०७९/८० मा ३९ करोड र आव २०८०/८१ मा २९ करोड रुपैयाँमात्रै प्रवाह भएको छ। 

यस्तै वैदेशिक रोजगारीबाट फर्किएकाहरुको व्यावसायिक परियोजना शीर्षकमा पनि आव २०७९/८० मा ५ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा त्यसपछिका वर्षहरु आव २०७९/८० मा ४ अर्ब २० करोड र आव २०८०/८१ मा २ अर्ब ४६ करोड रुपैयाँ मात्रै प्रवाह भएको छ। 

कृषिपछि सबैभन्दा बढी ऋण महिला उद्यमीको शीर्षकमा जाने गरेको छ। तर पछिल्लो तीन वर्षको तथ्यांकमा यस किसिमको कर्जा प्रवाह पनि घटेको छ। यो शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले आव २०७८/७९ मा ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा आव २०७९/८० मा ५८ अर्ब र आव २०८०/८१ मा ३८ अर्ब रुपैयाँ मात्रै ऋण प्रवाह भएको छ। 

यस्तै दलित समुदाय विकास शीर्षकमा बैंक तथा वित्तीय संस्थाले गत वर्ष २ अर्ब ८२ करोड रुपैयाँ प्रवाह गर्दा अघिल्लो वर्ष ४ अर्ब ३१ करोड रुपैयाँ र आव २०७८/७९ मा ५ अर्ब ८२ करोड रुपैया ऋण प्रवाह भएको थियो। दलित समुदायलाई उत्थान गर्दै व्यावसायिक वातावरण तयार गर्न सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतपूर्ण ऋण प्रदान गर्दै आएका थिए। तर यस प्रकारको ऋण पनि पछिल्लो समय थोरै जान थालेको छ। 

योबाहेक उच्च शिक्षाका लागि दिइने शैक्षिक ऋण पनि घटेर गत वर्ष २३ करोड रुपैयाँमात्रै प्रवाह भएको छ। अघिल्लो वर्ष २९ करोड रुपैयाँ ऋण शैक्षिक कर्जा शीर्षकमा गएको थियो। 

कपडा उद्योगमा जाने सहुलियतपूर्ण कर्जा पनि यस वर्ष उल्लेख्य घटेको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७८/७९ मा २३ अर्ब ५८ करोड रुपैयाँ ऋण प्रवाह गरेकोमा त्यसपछिका वर्षहरु आव २०७९/८० मा १९ अर्ब ६५ करोड र आव २०८०/८१ मा १० अर्ब ३६ करोड रुपैयाँमात्रै ऋण प्रवाह गरेका हुन्। 

यीबाहेकका सिटिभिटी तालिमप्राप्त व्यक्तिहरुलाई दिइने ऋण, युवा स्वरोजगार ऋण प्रवाह पनि निरन्तर घटेको छ। आव २०७८/७९ मा सीटीईभीटीको तालिम लिएकाहरुलाई बैंक तथा वित्तीय संस्थाले ३ लाख र त्यसपछिका वर्षहरुमा क्रमशः २ र एक लाख मात्रै ऋण प्रवाह गरेका छन्।

युवा स्वरोजगार शीर्षकमा भने आव २०७९/८० मा ८९ लाख रुपैयाँ ऋण प्रवाह भएकोमा त्यसपछिका वर्षहरुमा क्रमशः १ करोड र ५३ लाख रुपैयाँ मात्रै ऋण प्रवाह भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .