कारोबार


निष्प्रभावी बागमती भ्रमण वर्ष: विनियोजित बजेटको खर्च शून्य

कार्यक्रम बनाउन हतारो, कार्यान्वयनमा छैन ध्यान
निष्प्रभावी बागमती भ्रमण वर्ष: विनियोजित बजेटको खर्च शून्य

सुनिता विष्ट
माघ ९, २०८१ बुधबार १३:४९, हेटाैँडा

बागमती प्रदेश सरकारले घोषणा गरेको बागमती भ्रमण वर्ष-२०२४ निष्प्रभावी भएको छ। 

२०२४ जनवरी १ तारिख (१६ पुस २०८० मा)का दिन प्रदेश राजधानी हेटौँडास्थित एक होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै तत्कालीन पर्यटनमन्त्री पुकार महर्जनले बागमती भ्रमण वर्ष-२०२४ को शुभारम्भ गरेका थिए। 

गत आर्थिक वर्ष २०८०/८१ मा भ्रमण वर्ष मनाउने शीर्षकमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। आर्थिक वर्ष सकियो, तर भ्रमण वर्षको लागि छुट्याइएको बजेट सकिएन। 

त्यसोत, बजेट सकाउनु नै मन्त्रालयको उपलब्धि होइन। बिना योजना हचुवाको भरमा छुट्याइएको बजेट र बनाइएको कार्यक्रम कार्यान्वयन फितलो हुँदा प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२४ प्रभावकारी बन्न नसकेको हो।

यस अवधिमा बागमती प्रदेशमा कति पर्यटक भित्रिए भन्ने तथ्यांकसमेत प्रदेशको पर्यटन मन्त्रालयसँग छैन। आतिथ्य र एकता अभिवृद्धि गर्दै कला, संस्कृति, रहनसहन, परम्परा संरक्षण र सम्वद्र्धन तथा पर्यटकीयस्थल र सम्भावना पहिचान, प्रचारप्रसार र विकासमा योगदान पु¥याई बागमती प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ भ्रमण वर्ष मनाउन भनेर १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। 

आर्थिक वर्ष २०८१/८२ को लागि पनि यसै शीर्षकमा १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरियो। अघिल्लो आर्थिक वर्षमा मुस्किलले ५५ लाख रुपैयाँ मात्रै खर्च गरेको पर्यटन मन्त्रालयले थोरै अवधिमा यो रकम भ्रमण वर्ष कार्यक्रम प्रभावकारी बनाउन खर्च गर्न सकिएला भन्नेमा मन्त्रालयका कर्मचारीहरुलाई नै विश्वास थिएन। 

अंग्रेजी वर्ष अनुसार मनाइने योजना बनाइएको बागमती भ्रमण वर्ष २०२४ को ६ महिनाको अवधिमा मुस्किलले ५४.७५ प्रतिशत बजेट खर्च हुँदा ४५ लाख बजेट फ्रिज भयो। 

भ्रमण वर्ष मनाउने अवधि बाँकी नै रहेका कारण चालु आर्थिक वर्षमा यस कार्यक्रमलाई भव्य बनाइने योजनासहित १ करोड २० लाख बजेट विनियोजन गरिएको थियो। तर चालु आर्थिक वर्षमा संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशले भ्रमण वर्षको शीर्षकमा एउटा काम नै गरेन। 

डिसेम्बर ३१ तारिख अर्थात् पुस १६ गतेसम्मको भ्रमण वर्षको समापन गर्नुपर्ने थियो। तर सरकारले यसप्रति चासो नै देखाएन। जस कारण चालु आर्थिक वर्षको लागि छुट्याइएको १ करोड २० लाख रुपैयाँ खर्च नै भएन। कार्यक्रम लागु नगरिएपछि अब उक्त बजेट फ्रिज हुनेछ। 

मन्त्रालयमा सचिवदेखि लेखा कर्मचारीसमेत नहुँदा ६ महिनासम्म केही काम गर्न नपाएको संस्कृति तथा पर्यटन मन्त्रालयका प्रवक्ता पवन कुमार पोखरेल बताउँछन्। 

बागमती भ्रमण वर्षको लागि विनियोजन गरिएको उक्त बजेटबाट एक रुपैयाँ पनि खर्च नगरिएको जानकारी दिँदै उनले भने, ‘सरकार पनि अस्थिर भयो। मन्त्रालयमा सचिवज्यू नै नभएपछि अझ समस्या भयो। जसका कारण भ्रमण वर्ष लगाएत अन्य कार्यक्रम पनि कार्यान्वयन गर्न सकिएको छ्रैन।’

‘अब उक्त बजेट के हुन्छ?’ नेपालखबरको यो प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘अब कि अन्य कार्यक्रमका लागि रकमान्तर गरेर खर्च गरिन्छ। कि त फ्रिज नै हुने हो।’ 

प्रदेश सरकारले घोषणा गरेको बागमती भ्रमण बर्ष २०२४ प्रभावकारी बन्न नसकेको प्रवक्ता पोखरेल आफैँले स्वीकार गरे।

अघिल्लो आर्थिक वर्षको बजेटबाट भ्रमण वर्षलक्षित प्रचारप्रसार सामग्रीको उत्पादन जिङ्ल, डकुमेन्ट्री, राष्ट्रिय कलाकारबाट सन्देशमूलक भिडिओ निर्माण, होडिङ बोर्ड, पत्रपत्रिका,रेडियो, टीभीमार्फत कार्यक्रम प्रचारप्रसार, टोपी, ब्याज, स्टिकर, पेन, खादा, हाफ ज्याकेट, क्यालेन्डर, कप आदिमा खर्च गरिएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयले भ्रमण वर्ष–लक्षित कार्यक्रममा १० स्थानमा पर्यटन प्रवद्र्धन अन्तर्किया तथा छलफल, ग्रामीण पर्यटन प्रवद्र्धनका लागि बागमती प्रदेश होमस्टे महासंघको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रम, बागमती प्रदेशभित्रका नवीन पर्यटकीय क्षेत्रको खोज तथा सम्भाव्यता अध्ययन तथा प्रवद्र्धनात्मक कार्य गरिएको उल्लेख गरेको छ।

सरकार अस्थिर, कार्यक्रम अलपत्र
भ्रमण वर्ष घोषणा गरेयताका १ वर्षको अवधिमा पर्यटन मन्त्रालयको कुर्सीमा तीनजना मन्त्री पुगिसके। केन्द्रको राजनीतिक अस्थिरताले नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि तत्कालीन पर्यटन मन्त्री पुकार महर्जन हटाइए। 

नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित गठबन्धन अनुसार प्रदेश सरकार गठनका लागि बहुमत नपुगेपछि प्रदेश सभामा दुई सिट मात्र रहेको हाम्रो नेपाली पार्टी (हानेपा) ले पनि अवसर पायो। 

हानेपाका शैलेन्द्रमान बज्राचार्य पर्यटनमन्त्री बने। उनले करिब ४ महिना मन्त्रालय सम्हाल्न पाए। तर यो अवधिमा उनले पनि भ्रमण वर्ष झल्कने गरी त्यस्तो कुनै काम गरेनन्। 

गत साउन ९ गते बनेको नयाँ सरकार गठनबाट कांग्रेसकै विमल ठकुरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पुगे। उनले मन्त्रालय सम्हालेको ५ महिना बित्यो। तर उनको कार्यकालमा पनि भ्रमण बर्ष भ्रमण सफल बनाउने कुनै कार्यक्रम नै भएन।

मन्त्रालयमा कर्मचारीको अभावका कारण भ्रमण बर्षको लागि छुट्याइएको बजेट खर्च गर्नै नसकिएको पर्यटन मन्त्री ठकुरी बताउँछन्। यद्यपी, चालु आर्थिक बर्षका लागि छुट्याइएका केही शीर्षका बजेटहरु कटौती गरेर विपत् व्वस्थापन कोषमा जम्मा गरिदिन संघले भनेअनुसार उक्त बजेट पनि केही विपद् कोषमा जम्मा गरिदिने र केही रकम विकास निर्माणमा खर्चिने मन्त्री ठकुरीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad