कारोबार


विपद् व्यवस्थापनमा ललितपुर महानगरको नयाँ फड्को–भित्र्यायो अत्याधुनिक क्रेन

विपद् व्यवस्थापनमा ललितपुर महानगरको नयाँ फड्को–भित्र्यायो अत्याधुनिक क्रेन

नेपालखबर
असार १०, २०८३ बुधबार २०:४२, काठमाडौँ

ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ। 

महानगर प्रमुख चिरिबाबु महर्जनले ६२ लाख ६५ हजार रुपैयाँको लागतमा खरिद गरिएको उक्त क्रेनले महानगरको अग्नि नियन्त्रण क्षमतामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ललितपुर महानगरपालिका विपद् व्यवस्थापनका क्षेत्रमा अग्रणी रहेको दाबी गरे।

नगर प्रमुख महर्जनकाअनुसार हालै एक साततले भवनमा लागेको आगो नियन्त्रणका क्रममा सिँढीबाट पाइप लैजानुपर्दा समय धेरै लागेको र नियन्त्रणमा कठिनाइ भएको थियो। यस्ता अग्ला भवनहरूमा हुने आगलागीलाई द्रुत गतिमा नियन्त्रण गर्न यो अत्याधुनिक क्रेन प्रभावकारी हुने उनले बताए।

महानगरले आफ्नो सेवा ललितपुर क्षेत्रमा मात्र सिमित नराखी छिमेकी जिल्ला र नगरहरूमा पनि विस्तार गर्दै आएको छ। पछिल्लो समय काठमाडौंका विभिन्न स्थानमा भएका आगलागीका घटनाहरूमा ललितपुरका दमकलले ७९ पटकभन्दा बढी सेवा प्रवाह गरिसकेको मेयर महर्जनले बताए। 

नगर प्रमुख महर्जनले भने, ‘हामीसँग यसअघि नै अत्याधुनिक दमकल, एम्बुलेन्स र दक्ष नगर प्रहरीको टोली तयारी अवस्थामा थियो, तर एउटा उच्च क्षमताको क्रेनको अभाव खड्किरहेको थियो। आजबाट त्यो अभाव पनि पूरा भएको छ। हामी सेवामा सीमा तोक्दैनौँ। काठमाडौँका सिंहदरबार, हिल्टन होटल, सडक विभाग लगायतका क्षेत्रमा भएका आगलागी नियन्त्रणमा हाम्रा दमकल र फोम प्रविधिले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन्।’ 

जेन–जी आन्दोलनका क्रममा एउटा पुरानो दमकलमा क्षति पुगेपछि महानगरले थप दुईवटा अत्याधुनिक दमकल खरिद गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ। ती दमकल खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भई प्राविधिक मूल्याङ्कन भइरहेको र निकट भविष्यमै ती उपकरण पनि आइपुग्ने जानकारी दिइएको छ। 

नयाँ खरिद गरिएको क्रेन सञ्चालनका लागि महानगरका तीनजना दक्ष ‘हेभी’ सवारी चालकहरूलाई निर्माण कम्पनीमार्फत विशेष तालिम दिने व्यवस्था मिलाइएको छ। ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै पछिल्लो समय स्रोत र साधनको समुचित व्यवस्थापनमा जोड दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad