कारोबार


एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने समझदारी

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने समझदारी

नेपालखबर
असार ४, २०८३ बिहिबार १४:३७, काठमाडौँ

एमएडब्लु अर्थमुभर्स प्रालि (जेसीबी डिभिजन) र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबीका ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका सञ्जय देव यादव तथा एभरेष्ट बैंक लिमिटेडका विनय खनालले पत्रमा हस्ताक्षर गरेका हुन्।

यस रणनीतिक सहकार्यअन्तर्गत जेसीबीलगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंक लिमिटेडका देशभर रहेका शाखामार्फत सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। 

यस व्यवस्थाअनुसार ग्राहकहरूले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई थप सरल, छरितो तथा ग्राहकमैत्री बनाउने उद्देश्यले आवश्यक सम्पूर्ण कागजातहरू पेस गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्यदिनभित्र डेलिभरी अर्डर जारी गरिने व्यवस्था गरिएको छ। 

यसले ग्राहकहरूलाई समयमै उपकरण प्राप्त गर्न तथा व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

यस समझदारीले एमएडब्लु अर्थमुभर्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीचको व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई आवश्यक उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ। वित्तीय प्रक्रियामा हुने झन्झट तथा समयको बचत गर्दै ग्राहकहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउन यो सहकार्य महत्वपूर्ण साबित हुने विश्वास गरिएको छ।

दुवैले ग्राहकको सुविधा, सन्तुष्टि तथा व्यवसायिक वृद्धिलाई केन्द्रमा राख्दै आगामी दिनमा समेत नवीन तथा ग्राहकमुखी सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो सहकार्यले नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा थप सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad