फक्सवागन ग्रुप (भीडब्ल्यू)ले टेस्लाको प्रतिस्पर्धी रिभियनसँग संयुक्त उपक्रम (जेभी) सुरु गरेको छ।
बीबीसीका अनुसार जर्मन कारनिर्माताले साझेदारीमा आफ्नो लगानी बढाएको हो।
दुई कम्पनीबीच ५.८ अर्ब अमेरिकी डलरबराबरको लगानी सम्झौता भएको छ। सुरुमा फक्सवागनले ५ अर्ब डलरको लगानी गर्ने बताए पनि केही बढाएर सम्झौता भएको हो।
योसँगै रिभियनको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको बताइएको छ। चिनियाँ कम्पनीबाट बढिरहेको प्रतिस्पर्धा र विद्युतीय कार मागमा आएको सुस्तताका बीच दुई कम्पनीबीच महत्त्वपूर्ण प्रविधि आदानप्रदान गर्न दुवै सहमत भएका छन्।
यसले घाटामा गइरहेको रिभियनलाई लगानीको महत्त्वपूर्ण स्रोत जुटेको छ। अर्को वर्ष रिभियनले आर२ मोडल ल्याउने तयारी गरिरहेको छ। जुन स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) हो भने सानो र कम मूल्यमा आउने कम्पनीको भनाइ छ।
जेभीसँगै फक्सवागनलाई पनि रिभियनको प्रविधि आफ्ना सवारीसाधनमा प्रयोग गर्ने बाटो खुलेको छ। रिभियनको प्रविधिमा पहिलो फक्सवागन मोडल २०२७ को सुरुतिर ग्राहकलाई उपलब्ध हुनसक्नेछ।
जेभी योजनाअनुसार दुवै कम्पनीका विकासकर्ता र सफ्टवेयर इन्जिनियरले सुरुमा क्यालिफोर्नियामा काम गर्नेछन् भने त्यसपछि उत्तर अमेरिकाकै ३ अन्य र युरोपमा पनि प्लान्ट बनाउनेछन्।
अहिले अटोनिर्माताहरु लागत घटाउन लागिपरिरहेका छन्। औडी, ल्याम्बोर्गिनी, पोर्स्कीहरु उच्च लागतले आक्रान्त छन्। यसले उनीहरुको बिक्री र प्रतिस्पर्धा क्षमता कमजोर पारिरहेको छ। यता रिभियन र फक्सवागनले पनि लागत घटाउन जोड दिँदै आएका छन्।
रिभियनले अहिलेसम्म नाफा देखेको छैन। यसले इलेक्ट्रिक डेलिभरी भ्यानहरु बनाइरहेको छ। खुद्रा बिक्रेता अमेजनले कम्पनीसँग १ लाख यस्ता सवारीसाधनको माग गरेको छ जुन यो दशकको अन्त्यसम्म डेलिभर गर्नेछ।
यो पनि-
Shares

प्रतिक्रिया