कारोबार


आकाशिँदो प्याजको भाउसँग यसरी जोडिएको छ भारतीय राजनीति

आकाशिँदो प्याजको भाउसँग यसरी जोडिएको छ भारतीय राजनीति

नेपालखबर
असोज १३, २०७६ सोमबार ८:१२,

नेपालीको प्रमुख चाड दशैँको समयमा प्याजको मूल्य एक्कासि आकाशिएपछि त्यसको तीव्र प्रतिक्रिया आएको छ। सामाजिक सञ्जालमा यसको विषयमा तीव्र प्रतिक्रिया समेत आएको छ।

फेसबुक र ट्विटरमा प्याजबारे थुप्रै ठट्टा, कविता, मुक्तक र गीत लेखिएका छन्। कसैले प्याज किन्न बैंकले ऋण दिनुपर्ने माग गरेका छन् भने कसैले संसदमा नयाँ विधेयक ल्याएर एक किलोभन्दा बढी प्याज घरमा राख्नुलाई आपराधिक गतिविधि घोषित गर्नुपर्छ भनेका छन्।

काठमाडौंमा प्याजको मूल्य एकै दिनमा ३० रुपैयाँ समेत बढेको छ। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएका कारण यो अझै बढ्ने निश्चित छ। व्यापारीहरूले अझै प्याजको मूल्य बढ्न सक्ने अनुमान गरेका छन्। नेपालमा मागको ९५ प्रतिशत प्याज आयात हुन्छ।

त्यसमा ९८ प्रतिशत भारतबाटै आउने गरेको छ। फेसबुक र ट्विटर प्रयोगकर्ताले यसरी व्यंग्यात्मक शैलीमा प्याज–प्रसंग झिके पनि यो भारतको निम्ति ठूलो आर्थिक तथा राजनीतिक समस्याका रूपमा देखिएको छ। यसको प्रभावले नेपाली उपभोक्ता पनि महँगो प्याजको चपेटामा परेका छन्।

भारतको प्याज–राजनीति
यो साता भारतीय सहरहरूमा एक किलो प्याजको मूल्य ८० भारूको हाराहारीमा पुगेको छ। सर्वसाधारणमा आक्रोश चलिएको छ। र, सर्वसाधारणको भान्छा नै हो, जसले प्रत्येकचोटि सत्ता प्रभावित हुने गर्छ। किनभने भारतको आर्थिक केन्द्र मानिने महाराष्ट्र र राजधानी दिल्लीसँग जोडिएको हरियानामा विधानसभाका चुनावको घोषणा भएका छन् । केही समयअघिसम्म दुवै राज्यमा सत्तारुढ भारतीय जनता पार्टी फेरि सत्तामा फर्किने देखिएको छ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु तथा कस्मिरलाई विशेष दर्जा दिन सविधानको धारा ३७० खारेज गरेका छन्। जसको पुरै भारतको राष्ट्रवादको पारो माथि पुगेको छ। त्यसैको आधारमा फेरि भाजपा सरकारमा आउने अनुमान गरिएको छ। तर अहिले प्याजको भाउ बढेको छ र त्यसलाई नियन्त्रण गर्न सरकारले निर्यातमाथि प्रतिबन्धको घोषणा गरेको छ। आसन्न विधानसभा चुनाव प्याजको कारण प्रभावित नहोस् भनेर पनि भारत सरकारले यस्तो कदम चालेको हुनुपर्छ।

विकासोन्मुख देशमा खाद्यान्नको मूल्य र राजनीतिक परिवर्तनबीच निकट सम्बन्ध रहन्छ। त्यसै पनि विश्वमा ठुल्ठूला क्रान्तिको सुरुवात खाद्यान्नको मूल्य र अभावबाटै भएको थियो। जस्तो, सन् २०११ को अरब विद्रोहका धेरै कारणमध्ये खाद्यान्नको मूल्य आकाशिनु पनि एक हो। अधिकांश अरब राष्ट्रले ५० प्रतिशतभन्दा बढी खाद्यान्न आयात गर्छन्। २०११ को सुरुमा इजिप्टमा खाद्यान्नको मूल्य वृद्धिदर १९ प्रतिशत थियो। त्यसले होस्नी मुबारकको ३० वर्षे एकछत्र शासन समाप्त पार्‍यो।

सन् १७८८ र १७८९ मा फ्रान्समा खेतीपाती राम्रो भएन। कामदारहरूले पाउरोटी किन्न आफ्नो आम्दानीको ८८ प्रतिशत हिस्सा खर्च गर्नुपर्‍यो। फ्रान्सेली क्रान्तिका विभिन्न कारणमध्ये यो मूल्य वृद्धिलाई पनि एक मानिन्छ। सन् १९१७ मा पेट्रोग्राडको खाद्यान्न अभाव र मूल्य वृद्धिले रुसी क्रान्ति निम्त्यायो। अर्थशास्त्री हेगल बेर्गेर र मार्क स्पोइररले सन् १८४८ को युरोपेली क्रान्तिका कारणमा गहुँको मूल्यवृद्धि समेत भएको औंल्याएका छन्। अमेरिकी स्वतन्त्रता संग्रामको सुरुवात पनि चियामा लगाएको करका कारण भएको थियो।

भारतमा भने सत्ता उल्ट्याउन खाद्यान्नकै भाउ बढ्नुपर्दैन, प्याज नै पर्याप्त छ। सन् १९८० को आमचुनावलगत्तै नवनिर्वाचित प्रधानमन्त्री इन्दिरा गान्धीले प्याजको मूल्य घटाउने प्रतिबद्धता व्यक्त गर्नुपर्‍यो। उनले प्याजको मूल्यवृद्धिलाई पनि चुनावी मुद्दा बनाएकी थिइन्। चुनावको समयमा भारतीय बजारमा प्याजको मूल्य प्रतिकिलो ६ रुपैयाँ पुगेको थियो। गान्धीले ुप्याजको भाउ नियन्त्रण गर्न नसक्नेले सत्ता चलाउन सक्दैनु भन्ने चुनावी नारा बनाएकी थिइन्।

सन् १९९८ को निर्वाचनमा फेरि यही क्रम दोहोरियो। भारतीय जनता पार्टीले दिल्ली र राजस्थान विधानसभा निर्वाचन हार्नुमा त्यसबेलाको प्याज संकट नै मुख्य कारण थियो। दिल्लीमा प्याज अभावले आक्रोशित सार्वसाधारणले राज्य सरकारलाई नराम्ररी दण्डित गरेका थिए। एक दशक सत्तामा रहेको भारतीय राष्ट्रिय कांग्रेसको नराम्रो पराजय र नरेन्द्र मोदीको उदय सन् २०१४ को आम चुनावबाट भयो । विभिन्न काण्ड फसेको मनमोहन सिंह नेतृत्वको सरकारलाई प्याजको मूल्यवृद्धिले झनै अलोकप्रिय बनाएको थियो। त्यस समयमा पनि प्याजको मूल्य चुनावअघि आकाशिएको थियो।

भारतमा प्याजको महत्त्व पौष्टिक होइन, सांस्कृतिक छ। प्याजकै अभावले कोही भोकभोकै मर्दैनन्, तै पनि प्याजविनाको भान्छा खल्लो मानिन्छ। तरकारी वा अन्य परिकार बनाउँदा लुसन, अदुवा र प्याजको सम्मिश्रण नभई हुँदैन। यही उपभोग संस्कृतिका कारण प्याजको भाउ बढ्नासाथ सर्वसाधारणले त्यसलाई आफ्नो आयसँग जोडेर हेर्छन्। अहिले त्यही स्थिति छ। कमजोर हुँदै गएको अर्थतन्त्रमा मन्दीको मारमा परेको भारत सरकारका लागि प्याजको मूल्यवृद्धि ठूलो टाउको दुखाइको विषय बनेको छ ।

भारतमा वार्षिक १ करोड ८० लाख टन प्याज खपत हुन्छ। यसको ८० प्रतिशत कर्नाटका र महाराष्ट्र राज्यमा उत्पादन हुन्छ। यी दुईमा उत्पादन घटे पूरा भारत प्रभावित हुन्छ। विश्वमा सबैभन्दा बढी प्याज उत्पादनमा चीनपछि भारतकै नाम आउँछ। दुई प्रमुख राज्यमा चुनावअघि भएको प्याजको मूल्यवृद्धि कि कस्मिरले चुनाव जित्छ त्यो भने हेर्न बाँकी छ। तर भारतले प्याजमाथि लगाएको प्रतिबन्धले नेपालमा भने निश्चित रुपमा मूल्य बढाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad