ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब ४८ करोड ८६ लाख ८० हजारको बजेट ल्याएको छ।
बुधबार नगरसभामा उपमेयर मञ्जली शाक्य बज्राचार्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन्। उनले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको बताइन्। बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च हुने गरी चालु खर्चको व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले बताइन्।
आगामी आर्थिक वर्षका लागि महानगरले चालु खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरेको छ। चालु खर्च कर्मचारीको तलब भत्तालगायत वृद्धि भएका कारण बढन सक्ने उपमहानगरको प्रक्षेपण छ।
त्यसैगरी पुँजीगत खर्चतर्फ चार अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको छ। जुन चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले कम रहेको छ। वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्रको कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ।
संघीय र प्रदेश सरकारबाट पूँजीगत शीर्षकमा कम बजेट प्राप्त भएको कारण गत वर्षको भन्दा करिब २७ करोड रकम पूँजीगत खर्चमा कम प्रस्ताव गरिएको छ। वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्र कार्यक्रमका लागि चालु आर्थिक वर्षमा विनियोजन भए अनुसार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्ताव गरिएको छ।
बजेट कार्यान्वयनका लागि मासिक रुपमा सम्बन्धित निकायसँग रिर्पोटिङले व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले बताइन्। त्यसैगरी बजेटमा निर्माणाधिन आयोजनाका लागि बजेटको सुनिश्चितता पनि गरिएको ललितपुर महानगरले जनाएको छ।
Shares

प्रतिक्रिया