प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा चीनको लगानीमा निर्माण हुने औद्योगिक पार्कको डीपीआर स्वीकृत भएको छ।
मंगलबार प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले करिब ७० अर्ब रुपैयाँमा निर्माण हुने पार्कको डीपीआर स्वीकृत गरेको हो।
बोर्ड बैठकले झापाको दमकमा बन्ने नेपालकै सबैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बैठकले स्वीकृत गर्दै यो आयोजना विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ।
चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क निर्माणको लागि लगानी बोर्डले २ अगस्ट २०१९ मा स्वीकृत दिएको थियो।
स्वीकृतिपछि सरकारले दमक क्लिन इन्डष्ट्रियल पार्क प्रालि स्थापना गरी आयोजनालाई अघि बढाइएको छ।
औद्योगिक पार्क निर्माण तथा सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ।
औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन्।
औद्योगिक पार्क प्रभावित क्षेत्रमा दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका पर्छ। रतुवा र मावा नदी परियोजनाको ९ सय २ हेक्टर जमिन ओगट्नेछ।
आयोजनाको सबैभन्दा बढी लागत साढे ३३ प्रतिशत भवन निर्माण, भित्र र पहुँच सडक २५.८१ प्रतिशत, आकाशे पानी संकलन व्यवस्थापनमा ११.८६, विद्युतीय प्रसारण प्रणाली विकासको लागि करिब १० प्रतिशत खर्च हुने अनुमान गरिएको छ।
औद्योगिक क्षेत्र निर्माणपश्चात् करिब १ लाख जनाले रोजगारी पाउने अनुमान गरिएको छ। परियोजनामा औद्योगिक प्लटको संख्या ४ सय ९१ रहने बताइएको छ।
डीपीआरअनुसार पार्कमा रहेका प्रतिप्लटको आकार ९०/७५ मिटर हुनेछन्। परियोजनाभित्र ह्वाइट गुड्स औद्योगिक पार्क, यातायात उपकरण, कपडा तथा वस्त्रजन्य, खाद्य प्रशोधन, विद्युतीय सूचना औद्योगिक पार्क निर्माण हुनेछन्।
सहयोगी उद्योगको रुपमा वस्तुजन्य पदार्थ पार्क र वैज्ञानिक तथा प्राविधिक आविष्कार एवम् प्रशिक्षण पार्क निर्माण हुनेछन्।
पार्कभित्र अन्य सुविधाहरुमा मनोरञ्जन पार्क, मध्यवर्ती क्षेत्र, आवासीय क्षेत्र, विद्यालय, खेलमैदान, पार्किङ स्थल, तौलमापन पुल हुनेछन्।
पार्कभित्र ३ किसिमका सडक हुनेछन्। ४० मिटरको प्राथमिक सडक १२ किलोमिटर, २० मिटर चौडाइको ३४ किलोमिटर सडक निर्माण हुँदै छ।

प्रतिक्रिया