साताको अन्तिम कारोबार दिन आज पनि सेयरबजारमा गिरावट आएको छ। बजार कारोबार मापन गर्ने नेप्से सूचक शून्य दशमलव ९९ अंकले घटेको हो। तर ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक भने शून्य दशमलव २९ अंकले बढेको छ। आज १ सय ७२ कम्पनीले १० लाख कित्ता सेयर बिक्री गरेका छन् भने दिनभरिमा ६ हजार २ सय ७८ पटक सेयर किनबेच भएको छ।
उक्त परिमाणमा किनबेच भए पनि कारोबार रकम भने २६ करोडमै खुम्चिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज पनि जीवन बीमा, माइक्रोफाइनान्स, अन्य र होटल समूहको बाहेक बाँकी समूहको कारोबार सूचक घटेको छ। आज निर्जीवन बीमा समूहको कारोबार ४२.०१ अंकले घटेको नेप्सेले जनाएको छ।
कारोबार धेरै गर्नेमा भने आज एनआईसी एसिया अगाडि छ। बैंकको प्रतिकित्ता सेयर मूल्य ४ सय ५४ रुपैयाँ हुँदा आज १ करोड ९१ लाखको किनबेच भएको छ। त्यसपछि दोस्रो स्थानमा प्रभु बैंक छ। बैंकको प्रतिकित्ता २ सय ६६ रुपैयाँमा १ करोड ६६ लाखको कारोबार भएको छ। त्यस्तै, कृषि विकास बैंकको १ करोड २० लाखको सेयर कारोबार भएको छ। अन्य कम्पनीले करोडभन्दा कमको कारोबार गरेका छन्।
कमाइका आधारमा आज सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि छ। कम्पनीका सेयरधनीले १८ रुपैयाँ कमाएका छन्। त्यस्तै, सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २७ रुपैयाँ कमाउँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २५ रुपैयाँ कमाएका छन्।
त्यस्तै आज सृजना फाइनान्सका सेयरधनीले १३ रुपैयाँ, विशालबजार कम्पनीका सेयरधनीले ५७ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया