ad ad

कारोबार


सकियो वसन्त ऋतुको हिमाल आरोहण, सगरमाथामा बने यस्ता कीर्तिमान

सकियो वसन्त ऋतुको हिमाल आरोहण, सगरमाथामा बने यस्ता कीर्तिमान

वसन्त अर्याल
जेठ २१, २०७८ शुक्रबार ८:५१,

सन् २०२१ को वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न भएको छ।

पर्यटन विभागले वसन्त ऋतुको पर्वतारोहण सम्पन्न गरी आरोही फर्किने क्रममा रहेको जानकारी दिएको छ।

विभागकी निर्देशक मिरा आचार्यले सगरमाथासहित सबै हिमालको आरोहण सम्पन्न भएको जानकारी दिइन्।

‘अहिले कुनै पनि हिमालको बेस क्याम्पभन्दा माथि कोही पनि हुनुहुँदैन’, आचार्यले नेपालखबरसँग भनिन्, ‘वसन्त ऋतुमा सफल आरोहण गरी सबै फर्किने क्रममा रहनुभएको छ।’

विभागमा आरोहणका प्रतिवेदन पेश गर्ने कार्य भइरहेको उनको भनाइ छ। उनले अन्य वर्षको तुलनामा अहिले वसन्त ऋतुको प्रतिवेदन सार्वजनिक गर्न कोभिडको कारण समय लाग्ने बताइन्।

‘विश्वव्यापी महामारीले नेपाललाई धेरै प्रभावित बनाएको समयमा करिब ८० देशका आरोही नेपाल आएका छन्’, आचार्यले भनिन्, ‘महामारीको समयमा आरोहण गराउन अप्ठ्यारो थियो।’

उनले महामारीको समयमा पनि विगतका वर्षहरुमा जस्तै यसपटकको आरोहण सहज, सरल र सामान्य रहेको बताइन्।

‘महामारीको समयमा आरोहीलाई सहयोग गर्ने गाइड र आरोहण व्यवस्थापन गर्ने कम्पनीहरुप्रति आभारी छु’, उनले ट्विट गर्दै भनेकी छिन्, ‘मुख्यगरी आइसफल डाक्टर र रोप फिक्सरलाई नमन गर्न चाहन्छु।’

२०२० मा कोरोना महामारीको कारण सगरमाथा आरोही शून्य रहेका थिए। अहिले इतिहासकै धेरै ४०८ जनाले विभागका सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएका थिए।

थुप्रै कीर्तिमानसहित सफल आरोहण
२०२१ को वसन्त ऋतुमा बहरेनका राजपरिवार सदस्यसहित अमेरिकी चर्चित गायक तथा खेलाडीहरु सगरमाथा आरोहण गर्न नेपाल आएका छन्।

बहरेनको टोलीले पहिलोपटक सगरमाथामा आफ्नो झन्डा फहराई इतिहास रचेको छ। उक्त टोली सफल आरोहण गरी केही दिनअघि स्वदेश फर्किएको छ ।

नेपाली आरोही कामिरिता शेर्पाले २५औँ पटक सगरमाथा आरोहण गरी आफ्नो रेकर्ड तोडेका छन्। यो पटकको हिमाल आरोहणमा थुप्रै रेकर्ड बनेका छन्।

अन्नपूर्ण हिमालमा पहिलो पटक ६ नेपाली महिला आरोहण गरी इतिहास रचेका छन्। इतिहास रच्नेमा माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा, शर्मिला स्याङ्तान र पूर्णिमा श्रेष्ठ छन्।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी एकै परिवारका तीन दिदीबहिनीहरु निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले सफल आरोहण गरी विश्व रेकर्ड बनाएका छन्।

उनीहरुले विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्ला शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने लक्ष्य राखेका छन्।

महामारीको कुनै ‘फिल’ भएनः मिङ्मा शेर्पा
अहिलेको सिजनमा सबैभन्दा बढी हिमाल आरोहण सेभेन समिट ट्रेक प्रालिबाट भएको छ।

बहरेनी राजपरिवार सदस्यसहित १६ जनाको टोलीलाई सेभेन समिटले नै आरोहण गराएको हो। सेभेन समिटबाट मात्रै १२२ जनाले सगरमाथा आरोहण अनुमति लिएका थिए।

‘मिडियाहरुले सगरमाथामा महामारीले धेरै मरेजस्तो गरेर प्रचार गरे पनि हामीलाई कुनै फिल भएन’, सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले भने, ‘हाम्रो सबै टिम सफल आरोहण गरी काठमाडौं फर्किसकेको छ।’

उनले महामारीको अवस्थामा पनि पर्वतारोहणको सफल व्यवस्थापन भएको बताए।

पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४३ टिमका ३१५ पुरुष र ९२ जना महिलाले आरोहण अनुमति लिएका थिए। अधिकांश सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्।

सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहण गरेका छन्। ८ हजार ५१६ मिटर उचाइको हिमाल आरोहणका लागि १४ टिमका ९६ पुरुष र २९ महिला रहेका थिए।

तेस्रोमा अन्नपूर्ण हिमाल रहेको छ। ८ हजार ९१ मिटर अग्लो हिमालमा ४ टिमका ३६ पुरुष र ८ महिलाले विभागबाट अनुमति लिएका थिए।

साहसिक र आकर्षक मानिने अमादब्लाम हिमाल आरोहणका लागि २७ जनाले अनुमति पाएका थिए।

त्यसैगरी धौलागिरि ३३, मकालु २०, बरुन्त्से १५, हिमलुङ हिमाल ७, तिलिचो ८, पुमोरी ९,सारीबुङ, मुस्ताङ, टेङकाङपोचेमा २/२, टुकुचे र मनास्लुमा १/१ जनाले आरोहणका लागि अनुमति लिएका थिए।

वसन्त ऋतुको हिमाल आरोहण अनुमति दिँदा सरकारले ७१ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .