कारोबार


इन्भेस्टमेन्ट–हिमालयन मर्जरमा सिभिल पनि जोडिँदै, सोमबारको सञ्चालक समितिले के गर्ला निर्णय?

इन्भेस्टमेन्ट–हिमालयन मर्जरमा सिभिल पनि जोडिँदै, सोमबारको सञ्चालक समितिले के गर्ला निर्णय?

नेपालखबर
चैत ८, २०७७ आइतबार ११:५९,

नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अघि बढेको छ। ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जरपछि वाणिज्य बैंकहरुबीच हुनलागेको यो चर्चित बिग मर्जर हो।

अहिले ग्लोबल आईएमई करिब १९ अर्ब चुक्ता पुँजी भएको सबैभन्दा ठूलो वाणिज्य बैंक रहेको छ। तर इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जरपछि सबैभन्दा ठूलो बैंक यही बन्नेछ।

हिमालयन र इन्भेस्टमेन्ट एक हुँदा बैंकको करिब २३ अर्बको चुक्ता पुँजी हुनेछ। मर्जमा गएमा हरेक सूचकमा पनि यो बैंक नै सबैभन्दा उच्च अंकको हुनेछ।

हिमालयन बैंकको सोमबार सञ्चालक समितिको बैंठक बस्दै छ। त्यस्तै इन्भेस्टमेन्ट बैंकले समेत मर्जरको निर्णय छिट्टै गरेर यही हप्ताभित्र दुई बैंकबीच समझदारी गर्ने तयारीमा रहेको जनाएको छ।

यसो त यी दुई बैंकको मर्जर चर्चासँगै सिभिल बैंक पनि गाभिने समेतको विषय अहिले यी दुवै बैंकहरुबीचको आन्तरिक छलफलमा उठान भएको छ।

विषयलाई समेत समेटेर दुवै बैंकको सञ्चालक समतिको बैठकमा छलफल हुँदै छ।

हिमालयन बैंकको सोमबारको सञ्चालक समितिको बैठकमा उक्त एजेण्डा समेत समावेश रहेको सञ्चालक सदस्य सुनिलबहादर थापाले नेपालखबरलाई जानकारी गराए।

उनले भने, ‘हामीले इन्भेस्टमेन्ट बैंकसँगको मर्जरको विषय धेरै अघि बढाइसकका छौँ। तर त्यसमा आधिकारिक निर्णय भने भइसकेको छैन। भोलिको बैठकले मर्जरमा जाने नजाने आधिकारिक निर्णय गर्दै छ। त्यसमा सिभिल बैंकलाई के गर्ने भन्ने विषय पनि छलफल हुँदै छ।’

सिभिल बैंक र हिमालयन बैंकबीच क्रस–होल्डिङ रहेको छ। हिमालयन बैंकमा कर्मचारी सञ्चयकोषको १४ प्रतिशत सेयर स्वामित्व रहेको छ।

त्यस्तै कोषको सिभिल बैंकमा पनि साँढे ८ प्रतिशतको स्वामित्व छ। सिभिल बैंकले राम्रो बजार लिन नसकिरहेको अवस्थामा क्रस होल्डिङ रहेको बैंकसँगको मर्जर चाहिरहेको छ। यसै सम्बन्धमा सिभिल बैंक हिमालयन बैंकले केही महिनाअघि पत्र समेत लेखेको थियो।

यस विषयमा भोलिको बैठकमा छलफल हुने थापाको भनाइ छ।

सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन दुवै बैंकले तयार गरिसकेका छन्। यो प्रतिवेदनले सेयर रेसियो उस्ताउस्तै अर्थात्, थोरैले मात्रै हिमालयन बैंकको बलियो देखाएको छ।

उस्तै–उस्तै देखिएपछि यी दुई बैंकहरु मर्जरमा जान बढी तम्सिएका छन्। अब मर्जरमा जाँदा बैंकको अध्यक्ष इन्भेस्टमेन्ट बैंकले पाउने र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी हिमालयन बैंकले गर्ने मौखिक समझदारी बनेको छ।

अझै बैंकको नाम, कर्मचारी व्यवस्थापनको विषयमा छलफल चलिरहेको छ। कर्मचारी व्यवस्थापन मर्जरको मुख्य कुरो भएकाले त्यसलाई टुंग्याउन समय लगाएर छलफल हुनुपर्ने थापाको भनाइ छ।

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर स्वामित्व छ। हबिब बैंकले यो सेयर बेचेर बाहिरिन समेत चाहेको थियो। यो सेयर खरिद गर्न युरोपको सीडीसी फाइनान्स कम्पनी इच्छुक समेत रहेको थियो।

त्यसको लागि एक÷दुई चरण छलफल भए पनि बैंकको तत्कालीन अध्यक्ष मनोज बहादुर श्रेष्ठले चासो दिएनन्। उनीसँग संस्थापक अध्यक्ष हिमालय शमशेर पक्षका केही रुष्ट थिए। अहिले पनि हिमालय शमशेर पक्षले मर्जर चाहिरहेको छ।

हिमालय शमशेर र पृथ्वीबहादुर पाण्डे नातामा ज्वाइँ ससुरा समेत हुन्। श्रेष्ठ पुनः बाधक बन्नेमा आशंका छ। त्यसो त उनी भोलि अर्थात् सोमबारको सञ्चालक समितिको बैठकमा कस्तो रुपमा देखा पर्छन्। त्यसले निर्धारण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad