कारोबार


डेढ महिनामै ६० प्रतिशतले घट्यो सेयर कारोबार रकम, विज्ञले औँल्याए ६ कारण

डेढ महिनामै ६० प्रतिशतले घट्यो सेयर कारोबार रकम, विज्ञले औँल्याए ६ कारण

सन्तोष न्यौपाने
चैत १, २०७७ आइतबार १०:२४,

पछिल्ला दिनमा सेयर बजारमा कारोबार रकम घट्दै गएको छ।

दैनिक साढे १० अर्बबाट माथि लागेको सेयर कारोबार अहिले ४ अर्बमा झरेको छ। डेढ महिनाको अवधिमा कारोबार रकम ६२ प्रतिशतले घटेको देखिन्छ।

माघ २६ मा १० अर्ब ६१ करोड ९१ लाखको कीर्तिमानी सेयर किनबेच भएको थियो।

जुन इतिहासकै उच्च परिमाणको कारोबार हो। त्यसअघिको १० अर्ब ४४ करोडको कारोबारलाई उछिन्दै कारोबारमा नयाँ कीर्तिमान बनेको थियो।

तर त्यसयता भने सेयर कारोबार रकम र सूचकांकमा दुवै घटिरहेका छन्।

फागुन ३ मा १० अर्ब ३८ करोडभन्दा धेरै रकमको कारोबार हुँदै त्यसपछिको एक हप्ता १० देखि साढे ८ अर्बको हाराहारीमा सेयर कारोबार भएको थियो।

फागुन १२ यता बीचको एक/दुई दिनबाहेक सेयर कारोबार रकम ओरालिने क्रम बढेको छ। फगुन १८ गतेदेखि २० सम्म ६ अर्बभन्दा धेरै कारोबार भएकोमा गएको साताको पहिलो दिन २१ गते ५ अर्ब, मंगलबार ४ अर्ब ७५ करोड र बुधबार ४ अर्ब १० करोडको सेयर कारोबार भएको छ।

आज चैत १ गते पनि बजार ५१.२३ अंकले घटेको छ। आज बजारमा ४ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ।

सेयरबजारको रकम घटबढलाई सेयर सूचकांक घट्दाको असर, बजार घटेपछि किन्ने कम र लगानीको विस्तारलाई जोडेर हेर्न सकिने सम्बन्धित विज्ञ बताउँछन्। उनीहरुका अनुसार पछिल्लो समय सेयर कारोबार रकम ६ कारणले कम भएको देखिन्छ।

विज्ञले औँल्याए ६ कारण
पहिलो, सेयर सूचकांक घट्दाको असर। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले कारोबार रकमलाई ‘इन्डेक्स’सँग पनि जोडेर हेर्न सकिने बताए।

जस्तो कि कुनै सेयर ५ सयमा बिक्री भइरहेको थियो भने त्यो ३ सयमा झर्दा सेयर कारोबार रकम कम देखिन जान्छ। यसले गर्दा सेयर कित्ता उत्तिकै परिमाणमा कारोबार भए पनि कारोबार रकम कम देखिने भयो।

त्यस्तै, दोेस्रो कारण भने तरलता हो। ‘स्टक मार्केट इफिसियन्सी इन नेपाल’ विषयमा पीएचडी गरेका डा. गोपाल भट्टले बैंकमा तरलता घट्दै जानुले पनि सेयर कारोबारलाई असर गरेको बताए।

‘पहिला बैंकबाट सेयर कारोबारमा फाइनान्सिङ धेरै बढेको थियो’, भट्टले भने, ‘अहिले बैंकको लगानी अन्य क्षेत्रमा बढ्दै जाँदा सेयरबजारमा कारोबार घटेको हुनुपर्छ।’

कोरोना संकट सुरु भएसँगै ऋणको माग घटेको थियो भने निक्षेप बढ्दै गएको थियो। त्यही बेला सेयर लगानी गर्ने ऋणको सुविधा पनि राम्रो थियो।

आर्थिक गतिविधि वृद्धि हुँदै जाँदा विभिन्न क्षेत्रमा ऋणको माग बढ्दै गएको छ। जसले गर्दा बैंकले सेयर बजारमा गर्ने र अन्य लगानीकर्ताहरुले पनि रियल स्टेटजस्ता क्षेत्रमा लगानी बढाउन थालेका छन्। त्यस्तै आयाततर्फको ऋण पनि बढेको छ।

तेस्रो कारणचाहिँ सूचकांक उच्चविन्दुमा पुग्नु। सेयर बजार उच्चतम विन्दुमा पुगेपछि लामो समय टिक्न सक्दैन। नेप्सेको सूचकांक पहिलो पटक २६ सयसम्म पुगेको थियो। उच्च विन्दुमा पुगेपछि लगानीकर्ताले जोखिमको अनुभव गर्न थाल्छन्।

त्यही जोखिम हुनसक्ने डरले सेयर बेच्न र किन्ने कम हुन थाल्छन्। यसले कारोबार घट्दै जान्छ।

‘लगानीकर्ताले उच्चविन्दुमा पुगेपछि ‘रिस्क’ देख्न सक्छन्’, भट्टले भने।

पराजुलीले पनि समग्रमा सेयरबजार घट्दै जाँदा किन्ने कम हुने कारणले कारोबार कम देखिने बताए।

चौथोे, सेयर बजारको दायरा फराकिलो हुदै जाँदा कारोबार रकम वृद्धि भएको भट्टको भनाइ छ। एकपछि अर्को गर्दै सेयरबजार उच्चतम विन्दुमा पुग्दा त्यसको चर्चा गाउँ–गाउँ, घर–घरमा पुगेको थियो।

त्यही बेलामा निफ्राजस्ता ठूलो कित्ता भएका नयाँ नयाँ आईपीओ आए। नयाँ लगानीकर्ता आईपीओमा झुम्मिँदै गर्दा दोस्रो बजारमा प्रवेश गर्ने पनि बढ्दै गए।

उच्च विन्दुमा पुगेको बेला त्यसरी प्रवेश गरेका लगानीकर्ता नेप्से घट्दै जाँदा बाहिरिएको हुनसक्छ।

‘दायर विस्तार हुदै जाँदा त्यसको सीमितता पनि हुन्छ’, भट्टले भने, ‘फराकिलो भएको दायर खुम्चिँदै जानसक्छ।’

पाँचौँ, सेयर बजारको कारोबार दश अर्बबाट माथि लागेपछि कताबाट लगानी आइरहेको छ भन्ने पनि शंका उत्पन्न भएको थियो। कतिपयले बैंकिङ क्षेत्रको मात्र नभएर बाहिरबाट वा फरक च्यानलबाट पैसा सेयरमा लगानी भएको हो कि भन्ने शंका गरेका थिए।

त्यसरी, एनआरएन वा ह्वाइट मनी बनाउन आएको रकम विस्तारै घट्दै गएको हुनसक्ने भट्टको भनाइ छ।

छैठौं, पछिल्लो समय बढ्दै गएको राजनीतिक अलमलका कारण पनि सेयरबजारमा प्रभाव परेको विश्लेषकको भनाइ छ।

सरकार सञ्चालन गरिरहेको तत्कालीन नेकपा पार्टीभित्रको द्वन्द्व र सर्वोच्चले उनीहरुको एकताविरुद्ध गरेको फैसलालाई लगानीकर्तालाई प्रभाव परेको हुनसक्छ।

अब राजनीतिक बाटो कसरी जाने हो भन्ने अलमलमा लगानीकर्ता छन्। नेकपा फुटेसँगै सरकार परिवर्तनका हल्ला चलेका छन्। यसले पनि लगानीकर्ता ढुक्क भएर सेयर बजारमा लागनी गर्न नसकेको विज्ञहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad