नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका मधुकुमार मरासिनीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनी नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका थिए। उनी बैंकको सञ्चालक समितिको यही १० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका थिए।
सञ्चालक समितिका नवनियुक्त अध्यक्ष मरासिनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति÷रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा नवनियुक्त अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे। जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरे। उनले बैंकको वित्तीय परिसूचकहरुमा थप सुधार ल्याउन तथा बैंकको व्यावसायिक विकासका लागि बैंकलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्वता व्यक्त गरे।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीलगायत नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु दीपेन्द्र विक्रम थापा, केदार प्रसाद पनेरु, डा. सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराएका थिए। उक्त कार्यक्रममा बैंकका नि.नायब प्रमुख कार्यकारी अधिकृतसमता पन्तको समेत उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया