कारोबार


अझै पूर्णरुपमा खुलेनन् नेपाल–चीन नाका, व्यवसायी भन्छन्ः चीनले छिमेकीको भूमिका निर्वाह गरेन

अझै पूर्णरुपमा खुलेनन् नेपाल–चीन नाका, व्यवसायी भन्छन्ः चीनले छिमेकीको भूमिका निर्वाह गरेन

नेपालखबर
माघ २८, २०७७ बुधबार ११:४५,

नेपालतर्फको दुवै नाका पूर्ण रुपमा सञ्चालन गर्न चीन सकारात्मक रहेको छ। एक वर्षदेखि आंशिक रुपमा मात्रै सञ्चालन भइरहेको रसुवागढी र तातोपानी नाका सञ्चालनको लागि चीन सकारात्मक बनेको हो।

नेपाली उद्योगी व्यवसायीहरुले ठूलो गुनासो गरेपछि निरन्तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनियाँ पक्षसँग छलफल गरेको हो।

त्यस छलफलमा चिनियाँ पक्ष पूर्ण रुपमा नाका सञ्चालन गर्न सकारात्मक बनेको हो।

मन्त्रालयका एक अधिकारीले अहिले चीतर्फबाट आंशिक आयात भइरहेको जानकारी दिँदै निर्यात ठप्प भइरहेको अवस्थामा आयातलाई भने पूर्ण रुपमा खोल्न चीन तयार भएको बताए।

उनले भने, ‘गत वर्ष वैशाखदेखि नै पटक–पटक हामी यस विषयमा छलफल गरिरहेका छौँ। उनीहरु नाका खुलाउन पहिले मात्रै सकारात्मक बनेका छन्। सायद आगामी हप्तादेखि नाका पूर्ण रुपमा सञ्चालन होला।’

अहिले नेपाल–चीन आयात निर्यात हुने रसुवागढी र तातोपानी दुईवटा मात्रै नाका छन्। आगामी हप्तादेखि पूर्ण रुपमा तातोपानी नाका खुलाउने र त्यसपछि रसुवागढी नाका पनि पूर्ण रुपमा नै सञ्चालन गर्ने प्रतिबद्धता चिनियाँ पक्षले देखाएको हो।

मन्त्रालयका ती अधिकारी भन्छन्, ‘सुरुमा तातोपानी नाका खुलाउने त्यसपछि रसुवागढी नाकामा पूर्ण रुपमाले आयात गर्न दिने र त्यसपछि निर्यातलाई पनि खुलाउने पक्षमा चिनियाँहरु देखिएका छन्।’

तातोपानी नाका गत वर्ष कात्तिकदेखि पूर्णरुपमा सञ्चालन आउनसकेको थिएन भने रसुवागढी नाका गत माघदेखि बन्द भएको थियो। यी दुवै नाका साउनदेखि आंशिक रुपमा सञ्चालनमा थिए।

तातोपानीस्थित मितेरी पुलको मर्मत गर्न भन्दै ३ साता तातोपानी नाका बन्द गरिएको थियो। पुनः मंगलबारदेखि सञ्चालनमा आएको छ।

नेपाली व्यवसायीहरुले भने चिनियाँ नाका बन्द हुँदा ठूलो मारमा परेको भन्दै विरोध गर्दै आएका छन्। उनीहरुले नाका पूर्णरुपमा सुचारु गर्न भन्दै गर्दै आएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल आंशिक रुपमा सञ्चालन गर्दा गत वर्षदेखि रोकिएको कन्टेनर अहिलेसम्म आउन नसकेको बताउँछन्।

यसमा सरकारले पहल गर्न नसक्नु र चीनले आफ्नो छिमेकीको भूमिका निभाउन नचाहँदा नेपाली उपभोक्तादेखि व्यवसायीसम्मलाई ठूलो मार परेको बताउँछन्।

तर चिनियाँ पक्षले भने नेपाली व्यवसायीले नियम नमान्ने गरेको आरोप लगाएको छ। वाणिज्य मन्त्रालयको छलफलमा चिनियाँ पक्षले पहिलेदेखि अड्किएको सामान भन्दै तत्काल सामान किनेर नियममा नबसी ल्याउने गरेको बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .