कारोबार


ओलीले उद्घाटन गरे कुश्मा-दाना प्रसारणलाइन र सबस्टेसन

ओलीले उद्घाटन गरे कुश्मा-दाना प्रसारणलाइन र सबस्टेसन

नेपालखबर
माघ २२, २०७७ बिहिबार १०:५२,

प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका २ खुर्कोटस्थित २२०/१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानास्थित २२०/१३२/३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको बिहीबार काठमाडौंबाट भर्चुअल विधिमार्फत उद्घाटन गरेका हुन्।

कुश्मा भएको उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, दीर्घायूकुमार श्रेष्ठ, मनोज सिलवाललगायत सहभागी थिए।

उद्घाटन कार्यक्रमलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए। विद्युत् उत्पादन र प्रसारणतर्फका निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि नेपाल छिमेकी देशहरुलाई विद्युत् बिक्री गरी आय आर्जन गर्न सक्षम हुने उनले बताए।

मन्त्री रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई संचालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रीत हुन प्राधिकरणलाई निर्देशन दिए।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।

कामु कार्यकारी निर्देशक शाक्यले कालीगण्डकी नदी बेसिनमा निर्माणधीन र आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइनको पूर्वाधार तयार भएको बताए। उनले दोस्रो खण्डको निर्माणलाई पनि तीव्रता दिन हरसम्भव प्रयास भइरहेको उल्लेख गरे।

३९.६ किलोमिटर लम्बाइ भएको पहिलो खण्डको प्रसारण लाइनमा ११० वटा टावरहरु रहेका छन्। प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको ४० मेगावाटको रघुगंगा जलविद्युत आयोजनाले निर्माण गर्ने ४ वटासहित यस खण्डमा ११४ वटा टावरहरु रहनेछन्।

दाना दाना सवस्टेशनमा ३३।३३ एमभीएका तीन वटा र १ वटा २५ एमभीएको एउटा पावर ट्रान्सफर्मरहरु जडान भएका छन् । खुर्कोट सवस्टेशनमा ३३।३३ एमभीएका तीन वटा गरी १००/१०० एमभीएका ट्रान्सफर्मरहरु जडान भएका छन् । यी सबस्टेसनहरुमार्फत त्यस क्षेत्रमा पनि विद्युत् वितरण गरिने छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत अगाडि बढाइएको आयोजनाको पहिलो खण्ड र सबस्टेसनहरु निर्माणका लागि टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीको संयुक्त उपक्रम (जेभी)सँग २ अर्ब ७४ करोड रुपैयाँमा २४ अप्रिल २०१६मा ठेक्का सम्झौता भएको थियो। कम्पनीले ३० मे २०१६बाट निर्माण सुरु गरेको थियो । आयोजनाको परामर्शदाता पावर ग्रिड कर्पोरेसन अफ इन्डिया रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad