कारोबार


सरकारी अनुदानमा विदेशबाट आयात गरिएको २८ करोडको मल खेर गयो

सरकारी अनुदानमा विदेशबाट आयात गरिएको २८ करोडको मल खेर गयो

नेपालखबर
माघ २१, २०७७ बुधबार ३:४९,

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले तेस्रो मुलुकबाट ल्याएको ६ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड रुपैयाँ मूल्य बराबरको ६ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ।

गत भदौ ६ गते वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको सबै मल पानीले भिजेर डल्ला परेको हो। २८ करोड रुपैयाँ मूल्य बराबरको १ लाख २५ हजार बोरा मल काम नलाग्ने भएको र त्यसको जिम्मेवारी कर्पोरेसनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए।

कम्पनीले आयातकर्ता स्विस सिंगापुरमार्फत मल ल्याएको हो। मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएका छन्। मलको आपूर्तिकर्ता स्विस सिंगापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगन्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो। तर मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुन सकेको छैन।

सिंगापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपुर्‍याएको र त्यहाँ राखिएको अवस्था असार–साउनतिर बंगाललको खाडीमा आएको आँधीका कारण मल भिजेको हुन सक्ने प्रमुख लामिछानेको भनाइ छ। उनले थपे, ‘भिजेकै अवस्थामा रेलमार्गबाट वीरगन्ज आएकाले सोको जिम्मा नेपाल सरकार र कर्पोरेसनले लिँदैन।’

भिजेको र डल्लो परेको मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्विस सिंगापुरले लिनुपर्ने नसकिने बताइएको छ। भिजेर बिग्रिएको अवस्थामै मल आएकाले जाँचपास हुन नसकेको भए पनि कुनै प्रायोजनका लागि प्रयोग योग्य भए मात्र जाँचपास गरिने सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए।

रासायनिक मल खुला आकाशमुनि रेल्वे लिक वरिपरि, गोदाम एवं यार्डमा जहीतहीं छरिएको अवस्थामा रहेकाले यार्डभित्र अन्य सामान राख्न समस्या परेको बताइएको छ। ठूलो परिमाणमा रासायनिक मल भएकाले त्यसलाई नष्ट गर्न समस्या हुने, अयोग्य मालवस्तुको जाँचपास गर्न कानुनी प्रावधान नभएकाले त्यस्ता मल नष्ट गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

प्रतिबोरा १३२ रुपैया २० पैसा सरकारी अनुदानमा आयात भई भित्रिएको मल भिजेर डल्ला परेकाले किसानसम्म पुग्न सकेन। डलरमा प्रतीतपत्र खोलेर तेस्रो मुलुकबाट मल ल्याइएकाले नेपाल राष्ट्र बैंकको नियमानुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने कानुनी प्रावधान रहेकाले भिजेको मल भारतको कोलकाता बन्दरगाहबाटै नफर्काई आयात गरिएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad