डिश मिडिया नेटवर्क लिमिटेडले भोलि (सोमबार)देखि साप्ताहिक भिडियो म्यागजिन ‘सग्लो समाज’ प्रसार गर्ने भएको छ।
हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन्। सो म्यागजिन डिश होमको सरोकार च्यानल ९१३०० मा राती साढे ८ बजे प्रसार हुन्छ।
‘सग्लो समाज’ को पहिलो अंकमा विदेशी शक्तिका लागि लडाइँ लड्दा गोरखाली सिपाहीले पाएको दुःखको विषय मूलतः उनै सिपाहीका अभिव्यक्तिमा आधारित भएर प्रस्तुत गरिएको छ।
‘देशभित्रै निर्माण गरिएका कार्यक्रम बढाउँदै लैजाने नीति अनुरूप हिमाल मिडियासँग समझदारी भएअनुसार यो कार्यक्रम प्रसार हुन लागेको हो’, डिश मिडियाका अध्यक्ष हेमराज ढकाल भन्छन्।
‘सग्लो समाजमा हामीले चिन्तन गर्नुपर्ने, चिन्ता लिनुपर्ने र समाजलाई उत्साहित बनाउने विषयलाई म्यागजिनको ढाँचामा प्रस्तुत गरिनेछ’, हिमाल मिडियाका प्रकाशक तथा यो कार्यक्रमका प्रस्तोता कनकमणि दीक्षितले बताए।
हिमाल मिडिया अन्तर्गत हाल हिमालखबर र नेपाली टाइम्स समाचार पोर्टल सञ्चालित छन्।
डिशहोम, विगत १० वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाई नेपालभर आफ्नो गुणस्तरीय सेवा प्रदान गरिरहेको सफल संस्था हो। यसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका अलावा ग्राहकहरुको मनोरञ्जनका लागि विशेष च्यानलहरुका साथै घरमै बसि नयाँ नयाँ चलचित्र हेर्न सकिने पेपरभ्यु जस्ता सेवा प्रदान गरिरहेको छ।
Shares
प्रतिक्रिया