कारोबार


लागत कम र मुनाफा बढी लिन बाख्रा पालन कसरी गर्ने?

लागत कम र मुनाफा बढी लिन बाख्रा पालन कसरी गर्ने?

प्रकाश न्यौपाने
पुस १२, २०७७ आइतबार ८:५६,

पछिल्लो समय खसीबाख्रा पाल्ने किसानको संख्या गाउँमा मात्रै होइन्, बजार क्षेत्रमासमेत बढ्दो छ। बजारमा पर्याप्त जमिन नहुँदा बाख्रालाई चाहिने घाँसको समस्या भने धेरै छ। यसको विकल्पमा किसानले बाख्रालाई अन्न खुवाउँदै आएका छन्। अन्न खुवाएर बाख्रापालन गर्दा लागत बढी पर्छ। यही समस्या समाधानका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरमा रहेका बाख्रापालक किसानहरुलाई प्रशिक्षण गरेको छ।

नेपालमा प्रायः खसी बाख्रालाई वनजङ्गलमा चराउने वा डाले घाँस र स्याउला खुवाएर पालिन्छ। रैथाने घाँसपात खुवाएर पालिएका खसीबाख्रा ख्याउटे हुने, ढिलो हुर्कने, कम उत्पादन दिने खालका हुन्छन्। पोषणतत्व पुर्‍याउन किसानले अन्न खुवाउँछन्। नेपियर, जइ, बर्सिम, भेच लगायतका अकोसे र कोसे घाँसमा अन्नमा भन्दा बढी प्रोटिन पाइन्छ।

‘वर्षे, हिउँदे, बहुवर्षे र डालेघाँसको खेती गरी घाँसमा आधारित बाख्रापालनबाट आम्दानी पनि राम्रो लिन सकिन्छ’, सिद्धार्थनगर नगरपालिकाका पशु चिकित्सक ईश्वरीचन्द्र चौधरीले भने, ‘यसबारे कयौं किसानलाई जानकारी छैन। घाँसमा आधारित बाख्रापालनमा प्रेरित गर्ने र मुनाफा बढाउन सहयोग गर्ने उद्देश्यले नगरपालिकाले किसानलाई प्रशिक्षण गरी घाँसमा आधारित बाख्रापालनबारे सिकाएको हो।’

उनकाअनुसार लागत कम गर्न र मुनाफा राम्रो बाख्रालाई दानासँगै घाँस उत्तिकै आवश्यक पर्छ।

बाख्रा उग्रयाउने जनावर भएकाले घाँस खुवाएरै पाल्नु निकै राम्रो मानिन्छ। मासु बढाउने लोभमा पछिल्लो समय किसानले घाँस छाडेर दाना खुवाउन थालेका छन्। ‘दानामात्रै खुवाउँदा पोषणमा सन्तुलन मिल्दैन। जसले गर्दा बाख्राको शारीरिक विकास राम्रो हुँदैन। अर्कातर्फ उत्पादन लागत बढ्छ’, चौधरीले भने। घाँसमा आधारित बाख्रापालनबाट एउटा उन्नत जातको बोकाको औसत तौल एक वर्षमा ५० र पाठीको ३५ किलो हुन्छ।

बाख्रापालन गर्दा शुरुमा हावापानी अनुकुलको जात पहिचान, बिऊमा जातीय शुद्धता, स्वस्थकर खोर, कोसे र अकोसे घाँसमा पानी र नुनको सन्तुलन मिलाउने, जैविक सुरक्षा र रेखदेख गरे बाख्रा स्वस्थसँग हुर्किन्छ। हरियो घाँसपात मकै भन्दा बढी पोषिलो र प्रोटिनयुक्त हुन्छ।

‘उग्रयाउने जनावरले धेरै अन्न पचाउन नसक्ने भएकाले तौल बढाउने लोभमा जबर्जस्ती खुवाउन हुँदैन। यसले बाख्रालाई फाइदा गर्दैन’, चौधरीले भने।

बाख्रा उग्रयाउने जनावर भएकाले घाँस खुवाएरै पाल्नु राम्रो मानिन्छ। उग्रयाउने जनावरले घाँस खाएर जीवन निर्वाह गर्नुका साथै वंशबृद्धि र पशुजन्य उत्पादन दिन्छन्। थप पोषणका लागि मकै, भटमासलगायत दानाको सट्टा घाँसमा आधारित बाख्रा पालन गरे मूल्य कम र मुनाफा बढी हुन्छ। त्यसैले बाख्रापालक किसानले दानामा मात्रै नभई घाँस खुवाउन पनि जोड दिनुपर्ने पशु चिकित्सक बताउँछन्। सिद्धार्थनगर–९, गोनहियाका किसान देवसिंह गुरुङले नगरपालिकाको प्रशिक्षणले आफूजस्ता धेरै किसानले बाख्रापालनबारे नयाँ कुरा जानकारी पाएको बताए।

‘हामीले खसीबाख्रालाई दाना बढी खुवाउँथ्यौं, प्रक्षिणपछि घाँस उत्तिकै आवश्यक पर्दो रहेछ भन्ने कुरा जानकारी भयो। कोसे, अकोसे घाँस मिलाएर खुवाएमा बाख्रालाई निकै फाइदा गर्दो रहेछ’, उनले भने। घाँस लगाउने जमिन नहुँदा आफूजस्ता कयौं किसानले अन्नको भरमा बाख्रापालन गर्दै आएको उनले सुनाए।

‘लिजमा जमिन लिएर भएपनि घाँस खेती अनिवार्य गर्नुपर्ने भयो। अब त्यहीअनुसार योजना बनाएर अघि बढ्छु’, उनले भने।

प्रशिक्षणमा उपस्थित अधिकांश किसानले आफूहरुले अन्नमा आधारित रहेर बाख्रापालन गर्दै आएको र मुनाफा निकै कम हुने गरेको बताएका थिए। प्रशिक्षण पश्चात् अन्न भन्दा घाँसलाई प्राथमिकता दिएर बाख्रापालन गरे मुनाफा बढी हुने भन्ने कुरा सिकेको किसानको अनुभव छ। नगरमा व्यवसायिक बाख्रापालन गर्ने परिवार १५ भन्दा बढी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad