कारोबार


१५ दिनदेखि माइतीघरमै उखु किसान, सरकारले गरेन भुक्तानीकाे पहल

१५ दिनदेखि माइतीघरमै उखु किसान, सरकारले गरेन भुक्तानीकाे पहल

नेपालखबर
पुस १२, २०७७ आइतबार ८:४२,

उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्। तर पनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन।

यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन्। तर सरकारले तोकेभन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुनासो छ। त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरु बताउँछन्।

हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिनदेखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन्।

विगत सात वर्षदेखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन्। गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए।

तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिनाभित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए। एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाडौं आई आन्दोलन गरिरहेका छन्।

१५ दिनसम्म आन्दोलन गर्दा पनि सरकार नसुनेझैं गरी बसिरहेको छ। किसानहरु आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउनथालेका छन्।

तर सरकारले तोकेको मूल्यभन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरुको गुनासो छ। उखु किसान संघर्ष समितिका सदस्य मायाशंकर प्रसाद यादवले सरकारले प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोके पनि उद्योगीहरुले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरेका छन्।

सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने पनि उनले बताए।

चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ। विगत सात वर्षदेखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरुले बताएका छन्। आफूहरुले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदासम्म आन्दोलनलाई जारी राख्ने किसानहरुको भनाइ छ।

आन्दोलनरत किसानहरुले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइँदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देऊ’लगायतका नारा समेत लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad