कारोबार


निगमको ओसाका उडान निर्धारित समयमै हुने

निगमको ओसाका उडान निर्धारित समयमै हुने

 सीबी अधिकारी
साउन १२, २०७६ आइतबार १०:५७,

लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्र्यायो।

कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको ऋणमार्फत करिब रु २४ अर्बमा खरिद गरिएका विमान गन्तव्य नपाएर थन्किरहेका बेला निगम व्यवस्थापन भने गन्तव्य सेवा विस्तारको धमाधम तयारीमा छ।

त्यसो त, निगमभित्रको बेथिति, आर्थिक अराजकता, संस्थाभित्रको विकृतिलगायत विषय पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा ‘हेडलाइन’ बनिरहेका छन्। कहिले वाइडबडीको किस्ता तिर्न नसकेको, कहिले चिनियाँ विमान ‘ग्राउण्डेड’ भएको, विमानचालक पाइलटका विचित्रका गतिविधि तथा व्यवस्थापनमा रहेका पदाधिकारीबीच नै असामञ्जस्यता आदिले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको साखमाथि नै प्रश्नचिह्न खडा भएको छ। तर, चुनौतीका बीच सम्भावनाको खोजी गर्ने निगमलाई उपयुक्त अवसरमा पनि छ। आफ्नो व्यावसायिक योजनाका साथ स्रोत साधन र जनशक्तिको भरपुर उपयोग गरी सेवा विस्तारमा जुट्नु नै निगमको अपरिहार्यता हो।

सञ्चारमाध्यममा आएजस्तै निगमले कामै नगरेको भन्ने पनि होइन । निगमले अन्तर्राष्ट्रियस्तरको ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवाबापत वाहवाही कमाइरहेकै छ। निगमसँग दक्ष पाइलट इञ्जिनियर छन्। अनि विमान पनि थपिँदैछन्। अन्तर्राष्ट्रिय गन्तव्य विस्तारको रफ्तारमा अघि बढेको निगमले अबको ठीक एक महिनाभित्रै जापानको ओसाका उडान गर्दैछ।

ओसाकापछि जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्ने योजना छ। जापानपछि सकेसम्म दशैँअघि नै चीनका विभिन्न गन्तव्य तथा साउदी अरेबियाको रियादमा उडान गर्ने योजना बनाएको छ। त्यस्तै दक्षिण कोरियाको सिओलमा पनि उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाएको छ।

जहाँसम्म ओसाका उडानको प्रसंग छ, जुन केही दिनयता निकै चर्चा परिचर्चाको विषय बनिरहेको छ। ‘उडान तालिका स¥यो’, ‘यात्रु नै पाएन’, ‘जापान प्रतिनिधि फेरिए’, ‘सर्वोच्चमा मुद्दा–पुरानैलाई यथावत् राख्न आदेश’जस्ता विषय सर्वत्र बजारमा फैलिए। तर, निगमले हिम्मत हारेको छैन। अनेकन बाधा र अप्ठ्याराबीच सफलताको कडी खोज्दै निगम यतिखेर संस्थाको प्रतिष्ठालाई उँचो बनाउन लागिपरेको निगमले जनाएको छ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले ओसाका निगमको प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै निर्धारित तालिकामै काठमाडौँ–ओसाका उडान हुने राससलाई जानकारी दिए। ‘ओसाका उडान निर्धारित तालिकामै हुन्छ, यो निगमको प्रतिष्ठासँग जोडिएको विषय हो, बजारको हल्लाभन्दा पनि निगमले व्यापार गर्नैपर्ने बाध्यता छ’, उनले भने।

पूर्वनिर्धारित योजनाअनुरूप निगमले भदौ १२ गते (२९ अगष्ट २०१९) देखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गर्नेछ। जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन्। सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

निगमले छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडान गर्नका लागि आवश्यक पहल गरिरहेको छ। चीनको गोञ्जाओ उडानका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसकेको भए पनि चिनियाँ पक्षले केही आलटाल गरिरहेको बताइन्छ।

चीनको गन्तव्यमा सकेसम्म दशैँ अगाडि नै उडान गर्ने योजना बनाएको भए पनि चीनको सिभिल एभिएसनले निगमको ‘सेफ्टी अडिट’ गर्ने भन्दै समय मागेकाले केही विलम्ब भएको निगमका प्रवक्ता चन्दले बताए। अडिटका लागि चिनियाँ टोली अक्टोबर महिनामा नेपाल आउनेछ।

‘हामी (निगम) ले दशैँअघि नै चीन उडान गर्ने तयारी गरेका थियौँ, चिनियाँ पक्षले सेफ्टी अडिटको समय फेर्दा ढिलाइ हुन गएको छ’, प्रवक्ता चन्दले भने। चीन नेपालका लागि उपयुक्त स्रोत बजार मानिन्छ। चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६३३ पर्यटक आएका थिए।

युरोपेली संघ (ईयू) को सुरक्षा चासोलाई देखाएर चीनले अडिट गर्ने भनेपछि निगमले पनि अडिटको आवश्यक तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताए। अडिटका लागि निगमका विज्ञ राजुबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरिएको छ।

ईयूको मापदण्ड नेपालको सिभिल एभिएसनस्तरकै हुने र त्यो मापदण्ड निगमले पूरा गरिसकेकाले अडिटको सामना गर्न समस्या नहुने स्पष्ट पारे। चिनियाँले निगमको उडान सञ्चालन र इञ्जिनियरिङ विभागको अडिट गर्ने जनाएको छ।

जापानको प्रतिनिधि फेर्ने निर्णय यथावत् राख्न हालै सर्वोच्च अदालतले दिएको आदेशले ओसाका उडानमा कुनै असर नपर्ने निगमको भनाइ छ। निगमले जापान प्रतिनिधि देवमान हिराचनलाई दुई साताअघि हटाएको थियो। हिराचनले सर्वोच्चमा रिट दायर गरेपछि जापान प्रतिनिधिबाट हिराचनलाई नहटाउन अन्तरिम आदेश दिएको थियो। निगमले हिराचनको स्थानमा निगमकै कर्मचारी सन्तोष पाण्डेलाई नियुक्त गरेको थियो।

निगमले साउदी उडानको पनि तयारी गरेको छ। आगामी अक्टोबर महीनासम्म रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक तयारी भइरहेको सहायक प्रवक्ता कोइरालाले जानकारी दिए। यो गन्तव्यमा निगमले साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान गर्नेछ।

निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad