सरिता अर्यालको नियात्रा संग्रह ‘मेरो अपहरण’ सार्वजनिक भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार तारानाथ शर्मा, माया ठकुरी, प्रतिक ढकाल, निर्माेही ब्यास, हरिमाया भेटवाल, कुर्मराज शाही र लेखिका सरिता अर्याल लगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन्।
कालिकोटका प्रदेशसभा सदस्य कुर्मराज शाहीले ढुंगाको जिल्लाको विषयमा कृति आउनु नै ठूलो कुरा भएको बताए। युद्धबिरामका बेला कालिकोटका गाउँ बुझ्न त्यहाँ आएकी सरिता अर्यालसँगै अपहरणमा परेको पीडादायी क्षण सम्झदै शाहीले थपे, ‘त्यो कथा बिर्सिसकेको थिएँ, अहिले झल्झल्ती याद आयो।’
किताबबारे साहित्यकार एवं समीक्षक हरिमाया भेटवालले भनिन्, ‘यस पुस्तकले द्वन्द्वरत सरकार र माओवादी पक्षद्धारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनलाई जस्ताको त्यस्तै पस्केकाले युद्धभित्रको प्रताडना बुझ्न पुस्तक उपयोगी देखिन्छ।’
त्यसैगरी साहित्यकार प्रतीक ढकालले किताब पाँच घन्टाको फिल्मजस्तो बनेको र लेखिकाले साहसपूर्ण काम गरेको बताए। आफ्ना अनुभूति सुनाउदै लेखिका सरिता अर्यालले ‘मनभित्रको पीडा १५–१६ वर्षपछि पाठकसामू बिस्कुनझै सुकाएको बताइन्।
२२२ पेजको किताब बिएन पुस्तक संसारले प्रकाशन गरेको हो। किताबको मूल्य ३५० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया