कामना सेवा विकास बैंक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई ब्याजमा छुट दिएको छ।
बैंकले यातायात व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ७० प्रतिशत छुट दिइ कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुलाई सहुलियत प्रदान गरी सकिएको छ।
यो योजनामा यातायात व्यवसायीहरुले गरेको अपेक्षालाई मध्यनजर गदैं उनीहरुको मागलाई सम्बोधन गरी राहत प्रदान गर्ने उद्देश्यले बैंकले पुनः भाद्र महिनाको ब्याजमा छुटको योजना समेत ल्याएको बैंकले जनाएको छ।
बैंकले स्वरोजगारको लागि अटो रिक्सा लिएका न्यून आय भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भाद्र महिनाको ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ।
साथै यातायात व्यवसायीहरुलाई समेत सम्पूर्ण बक्यौता चुक्ता भुक्तान गरेमा भाद्र महिनाका पाकेको ब्याजमा ३० प्रतिशतले छुट दिने योजना ल्याएको छ। साथै आफ्नो सम्पूर्ण बक्यौता चुक्ता भुक्तान गर्ने यातायात व्यवसायी तथा अटो रिक्सा व्यवसायीलाई ब्याजदरमा परिमार्जन गरी यस त्रैमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने समेत बैंकले जनाएको छ।
यो योजनाले यातायात व्यवसायी र न्यून आय भएका अटो रिक्सा व्यवसायीहरुले अधिकतम लाभ प्राप्त गरी व्यवसाय सञ्चालनमा थप सहजता हुने समेत बैंकले विश्वास लिएको छ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया