नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ।
सो छलफलका क्रममा मन्त्री सुनिल लम्सालले नाडाको तर्फबाट आएका जायज सुझावहरुका सन्दर्भमा सरकारले ऐन नै संशोधन गरी सहजीकरण गरिदिने आश्वासन दिएको नाडाले जनाएको छ।
सो भेटघाट तथा छलफलको क्रममा नाडाका अध्यक्ष उपे्रतीले नेपालको अटोमोवाइल क्षेत्रसंग सम्बन्धित विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए।
सरकारले हालै व्यावसायिक महत्वका सवारी साधनको दर्ता रोक्का गरिएकोमा एलसी खोलिसकिएका र बाटोमा आइसकेको ती सवारीसाधनहरुको हकमा दर्ता फुकुवाको व्यवस्था हुनुपर्ने माग नाडाले राखेको थियो। हालको बजेटले हेवी इक्विपमेन्ट्सलगायतका मेसिनरी सामानहरुमा समेत मूल्यअभिवृद्धि कर लगाउने व्यवस्था गरेकोमा यसलाई पुनर्विचार गर्नुपर्ने माग अघि सारेका थिए।
भन्सार विभाग र यातायात व्यवस्था विभागबीच डिजिटल एकीकरण गरी आयातित सवारीसाधनको विवरण स्वचालित रूपमा आदान–प्रदान गर्ने व्यवस्था लागू गर्नुपर्ने विषयमा केन्द्रित रहेको थियो।
त्यसैगरी सो छलफलमा भन्सार र यातायात प्रणाली एकीकृत भएपछि डिलरको नाममा सवारी दर्ता गर्नुपर्ने बाध्यता हटाउने तथा सरकारी पोर्टल मार्फत जारी हुने अस्थायी स्व–घोषणा नम्बर प्रयोग गरी सवारी साधन सञ्चालन तथा स्थानान्तरण गर्न सकिने व्यवस्था हुनुपर्ने, डेटा साझेदारी प्रणाली तथा डिजिटल प्रमाणीकरण प्रक्रियासम्बन्धी स्पष्ट कार्यविधि तयार गरिनुपर्नेे नाडाको माग छ।
नयाँ मोटर वाहन तथा यातायात व्यवस्थापन ऐनको वर्तमान अवस्था, कार्यान्वयन समयसीमा तथा यस प्रक्रियामा नाडाको संलग्नता र भूमिकाबारे स्पष्टता हुनुपर्ने, सवारी साधन आयात नीतिको प्रभावकारी कार्यान्वयन तथा उद्योग व्यवसायले भोगिरहेका व्यावहारिक समस्याहरूको समाधान हुनुपर्ने, मन्त्रालयले गठन गर्ने भनेको यातायात प्राधिकरणमा नाडाको प्रतिनिधित्वको लागि व्यवस्था गरिदिनुपर्ने र सवारी कर सवारीसाधनको बिक्रीपश्चात् मात्र लाग्ने व्यवस्था हुनुपर्ने जस्ता विषयहरुमा छलफल गरेको नाडाले जनाएको छ।
सो छलफलमा उद्योग सचिव कुष्णबहादुर राउत, पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल, भन्सार विकागका महानिर्देशक श्यामप्रसाद भण्डारी तथा यातायात व्यवस्था विभागका महानिर्देशक रोशन ज्ञवाली सो छलफलमा उपस्थित थिए।
त्यसैगरी, नाडाका वरिष्ठ सल्लाहकार राजनबाबु श्रेष्ठ, महासचिव मिलनबाबु मल्ल, नाडा केन्द्रीय कार्यसमिति सदस्य नवराज भुसाल, नाडा केन्द्रीय कार्यसमितिका सदस्य तथा व्यावसायिक सवारी साधन समितिका सभापति विमल साह, नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति पहेश पाल समेतले समेत आ–आफ्ना धारणा राखेका थिए।
Shares

प्रतिक्रिया