कारोबार


ट्रक व्यवसायी भन्छन्- ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन

ट्रक व्यवसायी भन्छन्- ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन

नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ


नेपालखबर
असार २, २०८३ मंगलबार १९:३९, काठमाडौँ

नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक पूर्वाधारको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणका लागि ओभरलोड  नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै बानियाँले सडक तथा पुल निर्माणमा राज्यले गरेको ठूलो लगानी ओभरलोडका कारण छोटो समयमै खेर गइरहेको बताएका हुन्। उनले सडक पूर्वाधारको दीर्घकालीन संरक्षणका लागि सबैभन्दा पहिले ओभरलोड नियन्त्रणमा केन्द्रित हुनुपर्ने धारणा राखे।

उनका अनुसार बुटवल–नारायणगढ सडकखण्डका केही पुलहरू ओभरलोडकै कारण क्षतिग्रस्त भएका छन्। ‘पूर्वाधार बचाउने हो भने ओभरलोडलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ,’ उनले भने।

बानियाँले बुटवल–हेटौंडा सडकखण्डको उदाहरण दिँदै उच्च गुणस्तरको मापदण्डअनुसार निर्माण गरिएको सडक पनि केही महिनामै बिग्रिन थालेको उल्लेख गरे। यसको प्रमुख कारण क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने सवारी साधन रहेको उनको भनाइ थियो।

उनले नेपालका सडकमा ओभरलोड समस्या रहिरहेसम्म सडक र पुलको आयु घट्दै जाने तथा राज्यको लगानी जोखिममा पर्ने चेतावनी दिए। विभिन्न दातृ निकाय र मित्रराष्ट्रहरूको सहयोगमा निर्माण गरिएका पूर्वाधारहरू समेत ओभरलोडका कारण छिट्टै जीर्ण बन्दै गएको उनले बताए।

बैठकमा बानियाँले भारतीय सवारी साधनको सञ्चालन व्यवस्थापनतर्फ पनि ध्यानाकर्षण गराए। नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनहरूले ७२ घण्टासम्म देशभित्र आवतजावत गर्न पाउने व्यवस्थाको दुरुपयोग भइरहेको उनको भनाइ थियो। उनले भारतीय सवारी साधनहरूलाई प्रवेश गरेको नाकाबाटै बाहिरिने व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने सुझाव दिए।

भारतीय सवारी साधनबाट हुने ओभरलोड र तीव्र गतिका कारण नेपालका सडकमा दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै उनले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।

उनले सडक पूर्वाधारको सुरक्षा, दुर्घटना न्यूनीकरण र यातायात क्षेत्रको व्यवस्थित सञ्चालनका लागि ओभरलोड नियन्त्रणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad