कारोबार


राष्ट्रपतिसँग उद्योगीहरुले भनेः अर्थतन्त्र जोगाउन निषेधाज्ञा र लकडाउन रोक्नुपर्छ

राष्ट्रपतिसँग उद्योगीहरुले भनेः अर्थतन्त्र जोगाउन निषेधाज्ञा र लकडाउन रोक्नुपर्छ

नेपालखबर
भदौ २८, २०७७ आइतबार १३:२७,

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समसामयिक विषयमा छलफल गरेका छन्। राष्ट्रपतिलाई भेट्न परिसंघका पदाधिकारी आइतबार सितल निवास पुगेका थिए।

विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको परिसंघले जनाएको छ।

परिसंघका पदाधिकारीहरुले राष्ट्रपति समक्ष कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञा जस्ता व्यवस्थाहरु अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नु भन्दा कर्मचारीहरु र कामदारको मनोवल उच्च बनाई सुरक्षा उपायहरु अवलम्बन गरी कोभिडको साथमा नै उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्नुपर्ने माग राष्ट्रपति समक्ष राखेको थियो।

छलफलमा उद्योग प्रतिष्ठानहरुले राजश्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैँ सहयोग गर्दै आइरहको र यस अघिपनि उल्लेख्य राजश्व दाखिला भएको जानकारी गराउँदै वर्तमान अवस्थामा सिर्जना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधी भन्दा एक महिना बढीको समय थप गर्ने व्यवस्थाको लागि समेत अनुरोध गरेको थियो। यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजश्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीहरुलाई सहज हुने धारणा परिसंघको रहेको थियो।

परिसंघका पधाधिकारीहरुले उद्योगमा कार्यरत कर्मचारी र मजदुरहरुलाई सरकारले तोकेका सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको संक्रमणबाट जोगाउनको लागि उद्योगी व्यवसायीहरु प्रतिवद्ध रहेको जनाएका थिए। यस्तो विषम परिस्थितिमा कर्मचारी र कामदारहरुको हौसला बढाई काममा लगाउनु पर्ने परिसंघकाे धारणा थियाे।

उनीहरुले उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पीसीआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्थाको लागि राष्ट्रपति समक्ष आग्रह गरेका थिए।

कोभिडको महामारीबाट पर्यटन क्षेत्रपनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीहरुले राष्ट्रपतिसमक्ष जानकारी गराएका थिए। पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटन गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नको लागि राष्ट्रपति समक्ष अनुरोध गरिएको थियो। कुनै पनि पर्यटक नेपाल प्रवेश गर्दा हाल भएको चौध दिनसम्मको क्वारेन्टिनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टिनको व्यवस्था गर्नु पर्ने र तीनदिनको क्वारेपन्टिन पछि सम्बन्धित पर्यटकको पीसीआर टेष्ट गरी परीक्षण नेगेटिभ आएमा निर्वाधरुपमा घुमफिर गर्ने व्यवस्था मिलाउनु पर्ने माग गरेका थिए।

संक्रमणलाई रोक्नको लागि सुविधा सम्पन्न उपचार केन्द्रहरुको स्थापना, राम्रो क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गर्नुपर्ने धारणा परिसंघको थियो। यसको लागि निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु तथा होटलहरुलाई आवद्ध गराई उपचार तथा क्वारेन्टिन र आइसोलेसनका सेवाहरु निर्वाधरुपमा प्रदान गर्ने वातावरण बनाइदिनको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ।

छलफलमा राष्ट्रपतिबाट उद्योगी व्यवसायीहरुको सुझावहरुलाई सकारात्मकरुपमा लिई त्यसको कार्यान्वयमा सहयोग गर्ने धारणा व्यक्त गरेकी परिसंघका अध्यक्ष सतिश कुमार मोरले जनाए। अध्यक्ष माेरकाे नेतृत्वमा गएको टोलिमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल र निर्वाण चौधरी सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad