ad ad

कारोबार


निजगढ विमानस्थल निर्माणबारे नागरिक उड्डयन मन्त्रालयले गर्‍यो ६ निर्णय, के–के?

निजगढ विमानस्थल निर्माणबारे नागरिक उड्डयन मन्त्रालयले गर्‍यो ६ निर्णय, के–के?

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ११:२३,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ विमानस्थलको सबन्धमा विभिन्न छवटा निर्णय गरेको छ। मन्त्रालयमा मंगलबार निजगढ विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले उक्त निर्णय गरेको हो।

समिति संयोजक योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले डिभिजन वन कार्यालय, बाराद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने रुख तथा पोलहरुको लगत नम्बरिङको कार्य शीघ्र सम्पन्न गर्न यथाशीघ्र जनशक्ति थप गरी २०७७ मंसिर मसान्तसम्ममा रुख गणनाको कार्य सम्पन्न गर्ने निर्णय गरेको छ।

आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तय गरी १५ दिनभित्र उच्चस्तरीय समितिसमक्ष प्रतिवेदन पेश गर्ने निर्णय भएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता कमल प्रसाद भट्टराईका अनुसार बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले योजना बनाई काम अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै डिभिजन वन कार्यालय, बाराबाट यसअघि नै गणना सम्पन्न गरिएका ४ हजार २ सय ३२ वटा रुखहरुको कटान स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले भेरिफिकेसन कार्य सम्पन्न गरी एक महिनाभित्र मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेश निर्णय गरेको छ।

विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौताको प्रक्रियाका बाँकी कार्यहरु आगामी एक हप्ताभित्र सम्पन्न गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको छ।

त्यसैगरी लगानी बोर्ड नेपालले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्र लगानीसम्बन्धी अन्तिम निर्णय लिने निर्णय भएको भट्टराईले बताए।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भइरहेको छ। विमानस्थलको १९ सय हेक्टर जमिनमा भएको रुख, बिरुवा तथा पोल हालसम्म ५७ हजार ३ सय ५० गणना भइसकेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .