कारोबार


उद्योग वाणिज्य महासंघको निर्वाचन प्रत्यक्ष सहभागितामै गर्न ९० प्रतिशत सदस्यको सुझाव

उद्योग वाणिज्य महासंघको निर्वाचन प्रत्यक्ष सहभागितामै गर्न ९० प्रतिशत सदस्यको सुझाव

नेपालखबर
भदौ ४, २०७७ बिहिबार १२:३३,

नेपाल उद्योग वाणिज्य महासंघका देशभर रहेका सदस्यमध्ये ९० प्रतिशतले प्रत्यक्ष सहभागितामै निर्वाचन र साधारणसभा गर्न निर्वाचन मिति तोक्न बनाइएको कार्यदललाई सुझाव दिएका छन्।

कोभिड १९ को प्रभाव बढिरहेकाले भर्चुअल रुपमा निर्वाचन गर्ने विकल्पको खोजी भइरहेका बेला अधिकांश सदस्यले प्रत्यक्ष सहभागितामै निर्वाचन गर्नुपर्ने धारणा राखेका कार्यदलका सदस्यले बताएका छन्। 

गत वर्ष चैतमै हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कोभिड १९ को कारण हालसम्म रोकिएको अवस्थामा कसरी महासंघमा नयाँ नेतृत्व ल्याउने भन्ने छलफल भइरहेको छ।

महासंघले निर्वाचन र साधारणसभा कसरी गर्न सकिन्छ, त्यसको मोडालिटी समेत तयार पार्ने जिम्मेवारीसहित गत साउन २१ गते एक कार्यदल गठन गरेको थियो।

सोहीअनुसार उक्त कार्यदलले पाएको १५ दिनको म्याद बिहीबार सकिएको छ। तर कार्यदलले प्रतिवेदन लेखन कार्य अझै पूरा नभएको जनाएको छ।

‘हामीले सदस्यहरूको सुझावका आधारमा निर्वाचन तथा साधारणसभाबारे एउटा निष्कर्ष त निकालेका छौं तर, प्रतिवेदन लेखन कार्य अझै पूरा भएको छैन’, कार्यदलका एक सदस्यले भने।

कार्यदलले के–के गर्‍यो?
कार्यदलले प्रतिवेदनको लागि महासंघको सबै सदस्यहरुको सुझाव लिएको थियो। जसमा सबै जिल्लाका व्यक्तिहरुलाई समेत सम्पर्क गरेको थियो।

‘९० प्रतिशत सदस्यले प्रत्यक्ष निर्वाचन गरेर नै नयाँ प्रतिनिधिहरु छनोट गर्नुपर्ने र, लकडाउन हटेपछि निर्वाचन हुनुपर्ने माग गरेका छन्’, कार्यदलका ती सदस्यले भने, ‘त्यो सम्भव हुन नसकेको खण्डमा बरु अनलाइन प्रविधिबाट निर्वाचन गर्नसकिने माग अधिकांश सदस्यबाट आएको छ।’

सदस्यहरूबाट सुझाव लिएसँगै कार्यदलले विभिन्न क्षेत्रका विज्ञहरुसँग समेत छलफल गरेको थियो।

‘महासंघ सदस्यहरुबाट आएको सुझाव र विज्ञहरुसँग भएको छलफलपछि कार्यदल प्रत्यक्ष निर्वाचनबाट नै नयाँ नेतृत्व छनोट गर्ने निष्कर्षमा पुगेको छ’, कार्यदलका अर्का एक सदस्यले थपे।

सोही आधारमा अहिले प्रतिवेदन लेखनको कार्य भइरहेको छ। जसमा साधारणसभा हाललाई रोक्न पनि सकिने सुझावहरु आएको र सोहीअनुसार कार्यदल अघि बढेको छ।

६ सदस्यीय कार्यदलमा डीबी बस्नेत, अरुणराज सुमार्गी, विनोद ढकाल, सुनिलगोपाल श्रेष्ठ, भरत आचार्य र रञ्जित आचार्य छन्।

महासंघको विधानले अहिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेअनुसार शेखर गोल्छा अध्यक्ष बन्दै छन्। वरिष्ठ उपाध्यक्ष उम्मेदवारी घोषणा गरेका चन्द्र ढकाल र किशोर प्रधानले आआफ्नै प्यानल निर्माण गरेर निर्वाचनको तयारी गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad