कारोबार


कोरोना कहरमा पनि ६ बैंकले बढाए नाफा, कुनको कति बढ्यो?

कोरोना कहरमा पनि ६ बैंकले बढाए नाफा, कुनको कति बढ्यो?

नेपालखबर
साउन ३२, २०७७ आइतबार १२:१३,

कोरोना कहरको कारण अर्थतन्त्रमा नै ठूलो घाटा भइरहँदा गत आर्थिक वर्षमा छवटा वाणिज्य बैंकले भने नाफा वृद्धि गरेका छन्।

नेपालमा ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि त्यसको प्रत्यक्ष मार देशकै अर्थतन्त्रलाई परेको थियो। आर्थिक गतिविधि ठप्प हुँदा श्रमिक र व्यवसायीको आयआर्जनको बाटो बन्द भयो भने सरकारले पनि कर असुली गर्न पाएन।

उद्योग क्षेत्रमात्र होइन, वित्तीय क्षेत्रमा पनि यसको असर देखियो। परिणामतः धेरै बैंकहरुको नाफा घटेको छ। तर केही बैंकले भने नाफा बढाएको ती बैंकको असार मसान्तसम्मको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले देखाएको छ।

विवरणअनुसार ६ वटा वाणिज्य बैंकहरुको अघिल्लो वर्षभन्दा नाफा बढेको देखिएको हो। कुन–कुन बैंकले बढाए नाफा?

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३ प्रतिशत (रू. ९.८ करोड) को वृद्धिसहित ३ अर्ब १२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। आ.व. २०७५/०७६ को सोही अवधिमा खुद मुनाफा ३ अर्ब २ करोड रहेको थियो। बैंकको स्वपुँजीमा प्रतिफल १९.४१ प्रतिशत रहेको छ र जुन समग्र वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा बढी रहेको बैंक छ।

बैंकको आव २०७६/०७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रैमासिकसम्ममा कर्जातर्फ २३ अर्बले वृद्धि गरी कुल कर्जा रकम १ खर्ब ७४ अर्ब पुगेको छ। जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.५९ प्रतिशत हो।

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने चौथो त्रैमासिकसम्ममा ३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ११ अर्ब पु¥याउन बैंक सफल भएको छ। जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६÷०७७ मा भएको कुल वृद्धिको ७.९६ प्रतिशत रहेको छ। साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६.५ प्रतिशत (करिब ४ खर्ब ७७ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजनपश्चातले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत (३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ।

बैंकले आफ्नो रणनीतिअनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ। गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेपतर्फ रू. २२.१२ अर्बले वृद्धि गरी उक्त निक्षेप मिश्रणको प्रतिशत ४५.१७ पुर्याउन सफल भएको छ जुन समग्र वाणिज्य बैंकहरूको औसत करिब ४२ प्रतिशतको तुलनामा ३.१७ प्रतिशत विन्दुले बढी हो। बैंकले प्रतिसेयर आम्दानी ३२.१२ रुपैयाँ आर्जन गर्न सफल भएको छ।

ग्लोबल आईएमई बैंक
कोरोना कहरमा पनि नाफा बढाउने अर्को बैंक हो ग्लोबल आईएमई। यो बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी नाफा कमाएको छ। जनता बैंकलाई मर्ज गरेको यो बैंकको नाफा बढ्नु स्वाभाविक नै मानिएको छ । जनता बैंकलाई आफूमा गाभेको ग्लोबल आइएमई बैंकले अघिल्लो आर्थिक वर्षमा २ खर्ब ७६ करोड नाफा गरेकोमा यो वर्ष ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको हो।

बैंकको वितरणयोग्य नाफा एक अर्ब ७३ करोड २८ लाख रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन, सञ्चालन आम्दानी तथा सञ्चालन नाफा बढेको छ। साथै बैंकको ब्याज खर्च, सञ्चालन खर्चलगायतका खर्च बढेको छ भने खराब कर्जा समेत बढेको छ। चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी १६ दशमलव २७ रुपैयाँ छ। असार मसान्तसम्म बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २ अर्ब ९५ करोड रुपैयाँले धेरै हो। बैंकको सञ्चालन नाफा ४ अर्ब ४० करोड रहेको बैंकले जानकारी गराएको हो।

एनसीसी बैंक
एनसीसी बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६÷०७७ मा १० दशमलव ७४ प्रतिशतले बढाउन सफल भएको छ। बैंकले जारी गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब २ करोड रुपैयाँ रहेको हो। बैंकको वितरणयोग्य मुनाफा ६९ करोड ९९ लाख रुपैयाँ बढी रहेको छ। बैंकको सञ्चालन मुनाफा १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।

बैंकले खुद ब्याज आम्दानीबापत ३ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो। बैंकले समीक्षा अवधिमा ७३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले ६५ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

प्राइम बैंक
प्राइम कमर्सियल बैंक लिमिटेडको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ४ दशमलव २७ ले बढेर २ अर्ब २९ करोड २८ लाख २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब १९ करोड ८७ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफामा पनि सामान्य सुधार आएको छ।

यसअवधिमा वितरण योग्य नाफा ०.९३५ ले बढेर १ अर्ब ६१ करोड ५७ लाख १८ हजार रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी ७ रुपैयाँ २१ पैसाले घटेर १६ रुपैयाँ ३९ पैसामा आएको छ। अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६० पैसा थियो। २०७६ भदौमा कन्काई विकास बैंक र फागुनमा कैलाश विकास बैंकलाई प्राप्ति गरेको प्राइमको अधिकांश सूचकहरु मजबुत बनेको थियो।

एनएमबी बैंक
एनएमबी बैंक लिमिटेडले अघिल्लो वर्ष २ अर्ब २५ करोड रुपैयाँ रहेको नाफा बढेर यो वर्ष २ अर्ब २७ करोडको रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्ष २०७६÷०७७ को १ अर्ब ४२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ। यो बैंकको प्रिमियममा १२ करोड रुपैयाँ रहेको छ। बैंकको चुक्तापूँजी १३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

सेन्चुरी बैंक
सेन्चुरी कमर्सियल बैंकको नाफा अघिल्ले वर्षको तुलनामा गत आर्थिक वर्षमा नाफा बढाएको छ। आर्थिक वर्ष २०७५/०७६ को तुलनामा २०७६/०७७ मा बैंकले नाफामा ३३ प्रतिशतले बढाएको हो। बैंककोे वित्तीय विवरणअनुसार गएको वर्ष ९० करोड खुद नाफा कायम भएको छ।

यो अघिल्लो वर्षको तुलनामा करिब ३४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ६७ करोड नाफा आर्जन गरेको थियो। बैंकले गएको वर्ष २ अर्ब ८७ करोड ब्याज आम्दानी गरेको छ। त्यस्तै ३ अर्ब ३३ करोड सञ्चालन आय गरेको बैंकको खुद सञ्चालन मुनाफा १ अर्ब २३ करोड आर्जन गरेको छ। ८ अर्ब ४१ करोड चुक्ता पुँजी भएको बैंकको वितरणयोग्य नाफा भने ४० करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad