नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फाेनपे पेमेन्ट सर्भिस लिमिटेडले साथ दिएको छ।
अभियानअन्तर्गत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार एक रुपैयाँ छुट्याइनेछ। यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ।
भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ। हरेक कारोबारमा १ रुपैयाँ छुट्याउने सम्झौताको सम्झौतापत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरेका छन्।
भदौ १ गतेदेखि एक महिनासम्म यो अभियान लागू हुनेछ।
सम्झौतापछि एफवान सफ्ट गु्रपका अध्यक्ष ढकालले यो विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन्। नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
यही रिक्तता पूरा गर्नका लागि भेन्टिलेटर बैंकले यो अभियान सुरू गरेको हो।

प्रतिक्रिया