कारोबार


महामारीका कारण ६ प्रतिशतले घट्यो नेपाल टेलिकमको आम्दानी, गत वर्षकाे कमाइ साढे ३४ अर्ब

महामारीका कारण ६ प्रतिशतले घट्यो नेपाल टेलिकमको आम्दानी, गत वर्षकाे कमाइ साढे ३४ अर्ब

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ६:५५,

नेपाल टेलिकमको कुल आयमा कोरोना भाइरस महामारीको प्रभाव देखिएको छ। गत आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक अर्थात् वैशाख, जेठ र असारसम्मको अवधिमा टेलिकमको आम्दानी ६.२ प्रतिशतले घटेको हो।

टेलिकमले तयार पारेको चौथो त्रैमासिक अवधिसम्मकाे तथ्यांकअनुसार कम्पनीले ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५ सय ९५ रुपैयाँ आम्दानी गरेको हो। अघिल्लो आवको सोही समयमा टेलिकमको कुल सेवाबापतको यस्तो आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २ सय २१ रुपैयाँ थियो।

कम्पनीले आय घट्नुमा चारवटा मुख्य कारण रहेको जनाएको छ। त्यसमध्ये लिज्ड लाइन, एफटीटीएच र जीएसएम डाटाबाहेक अन्य सबै सेवाबाट हुने आम्दानी घटेको, तुलनात्मक रुपमा लिज्ड लाइन र एफटीटीएच सेवा कम्पनीका अन्य सेवाभन्दा निकै कम रहेकोले यसबाट हुने आम्दानीले अन्य आम्दानीको कमी परिपूर्ति गर्न नसक्ने टेलिकमको भनाइ छ। कोभिड १९ को प्रत्यक्ष असरका कारण सेवा प्रयोगमा गिरावट आउँदा अघिल्लो आवको चौथो त्रैमासिकसम्मको तुलनामा गत आवको सोही अवधिसम्म कम्पनीको सेवाबाट प्राप्त हुने राजस्व २ अर्ब २९ करोड २८ लाखले न्यून भएको टेलिकमले जनाएको छ।

त्यस्तै, कम्पनीले रिचार्ज कार्डको बिक्रीमा ०७५ चैतदेखि कमिसनको साटो छुट गणना सुरु गरेको र कुल बिक्रीलाई हिसाब गरिसकेपछि कमिसन प्रदान गरिने तर डिस्काउन्ट रिचार्ज कार्ड बिक्रीअघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारण सेवाबापतको आय घटेको जनाएको छ। अघिल्लो आवको तुलनामा गत आवमा उक्त डिस्काउन्ट रकम ७९ करोड ३१ लाख ९१ हजारले बढेको भए पनि अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा डिस्काउन्ट रकम जोड्नुपर्ने र यसरी जोड्दा राजस्व ३.९ प्रतिशतले कमी हुने टेलिकमको भनाइ छ।

यसबाहेक टेलिकमले फोरजी सेवाको विस्तारको कारण गत आवको तेस्रो त्रैमासिक अवधिको मध्येबाट राजस्व वृद्धि उन्मुख रहे पनि कोरोनाका कारण अन्तर्राष्ट्रिय रोमिङलगायतका सेवामा उच्च गिरावट आएको, ओटीटीको बढ्दो प्रयोगजस्ता कारण जीएसएम तथा पीएसटीएन भ्वाइस सेवामा करिब २ अर्ब १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिब ५४ करोडको कमी भएको टेलिकमले जनाएको छ। यस्तै डाटा सेवातर्फ करिब ७५ करोड वृद्धि भएको छ भने यो अवधिमा अघिल्लो आवको तुलनामा राजस्व करिब १५ प्रतिशत अर्थात् १ अर्ब ९५ करोडले यी सेवाको राजस्व घटेको टेलिकमले जनाएको छ।

त्यस्तै कोरोना नियन्त्रण गर्न ०७६ चैत ११ देखि घोषित लकडाउन चौथो त्रैमासिकमा निरन्तर रहेकाले व्यापार व्यवसायमा असर परेको, जसले गर्दा सेवामा कमी आउँदा कम्पनीको राजस्वमा नकारात्मक असर परेको टेलिकमले जनाएको छ। त्यस्तै उक्त समयमा ग्राहकलाई टपअपमा शतप्रतिशत बोनसबापत ५३ करोड ४० लाखभन्दा बढी, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिई २२ करोड ८३ लाखभन्दा बढी र निःशुल्क कलबापत ५ करोड ३० लाख बढीको निःशुल्क सेवा दिएकाले राजस्व घट्नुमा कारण मानिएको छ।

टेलिकमले कोरोना नियन्त्रण तथा रोकथाम कोषमा १० करोड सहयोग समेत गरेको थियो। राजस्व घट्नुमा उल्लिखितबाहेक समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्च बढेको, कर्मचारीको तलब बढेको र उनीहरुलाई उपलब्ध गराइएको ऋणका कारण व्ययभार बढ्दा मुनाफामा असर परेको टेलिकमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad