हरेक वर्ष उच्च परिमाणमा विदेशी वस्तु आयात गर्ने नेपालले केही वस्तु भने अर्बौँको निर्यात गर्छ । तर आयात परिमाणको तुलनामा भने यो नगन्य हो।
केही वर्षअघि मुलुकबाट निर्यात हुने वस्तुमा अलैँची उच्च स्थानमा थियो। केही समय आइरन स्टिल पनि उच्च निर्यात भयो। अझ अगाडि जाने हो भने कार्पेट, तयारी पोशाक, यार्नको निर्यात उच्च थियो।
केही वर्षको वैदेशिक व्यापारको तथ्यांक हेर्ने हो भने नेपालबाट निर्यात हुने वस्तु दुई/तीन वर्षको अन्तरालमा परिवर्तन भइरहेको देखिएको छ। अर्थात् एउटै वस्तु एकैनासले उच्च निर्यात भएका छैनन्।
पछिल्लो दुई वर्षको उच्च निर्यात भएका वस्तुको सूचीमा शीर्ष स्थानमा पाम आयल छ। जुन यसअघि नेपालको निर्यात वस्तुमा कहिल्यै नसुनेको वस्तु हो।
नेपालबाट निर्यात हुने वस्तुको शीर्ष स्थानमा छिटोछिटो परिवर्तन भइरहेको छ। विज्ञहरु यसलाई ‘वर्षातको भेल’जस्तो आउने जाने भइरहेको बताउँछन्।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले मुलुकबाट निर्यात हुने वस्तुमा स्थायित्व नभएको बताए। नेपालमा उत्पादित वस्तुको स्थायी निर्यातभन्दा टाकनटुकन तरिकाले व्यापार भइरहेको उनको भनाइ छ।
‘बाहिर बजारमा जे माग भइरहेको छ, त्यसको कच्चा पदार्थ ल्याएर भ्यालु एडेड गर्दै निर्यात गर्ने काम भइरहेको छ’, नेपालखबरसँग बजगाईंले भने, ‘निर्यात केही समयमा व्यापारमात्र भयो तर स्थायित्व भएन।’
गत वर्ष २०७६/०७७ को तथ्यांकअनुसार मुलुकको निर्यातको शीर्ष पाँचमा क्रमशः पाम आयल, सोयाबिन तेल, यार्न, ऊलन कार्पेट, जुट र यसका उत्पादनहरु छन्।
पाम आयल निर्यातमा गत वर्षबाट शीर्ष स्थानमा छ। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा १० अर्ब ३३ करोडभन्दा धेरैको निर्यात भएको थियो।
यो निर्यात गत वर्षभन्दा ७७ प्रतिशतले वृद्धि हुँदै १८ अर्ब ३१ करोड नाघेको छ। गत वर्ष निर्यात भएको पाम आयलको परिमाणले कुल निर्यातको १९ प्रतिशत हिस्सा ओगट्छ।
१. पाम आयल
भारतले पाम आयल निर्यात खुला गरेसँगै नेपालबाट निर्यात हुनथालेको थियो। नेपालमा उत्पादन नहुने यसको कच्चा पदार्थ तेस्रो मुुलुकबाट ल्याएर ‘भ्यालु एड’ गर्दै भारतमा निर्यात हुन्छ।
तत्कालीन मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले भारतले पछिल्लो समय जम्मु काश्मिरको विशेष अधिकार हटाएपछि दिएको अभिव्यक्तिबाट आक्रोशित हुँदै पाम आयल आयात रोकेपछि नेपालको निर्यात बढेको थियो।
पछि महाथिरको सत्ता बहिर्गमनसँगै भारत–मलेसिया सम्बन्ध सुधारपछि पुनः भारतले मलेसियाबाट पाम आयात खुल्ला गरेको थियो। मलेसियाबाट चार महिना आयात नहुँदा भारततर्फ नेपालबाट पाम आयलको निर्यात उच्च हुन थालेपछि बेलाबखत अवरोध समेत हुँदै आएको छ।
२. सोयाबिन तेल
त्यस्तै, नेपालबाट निर्यात भएको वस्तुको दोस्रो स्थानमा सोयाबिन तेल छ। ४२५ प्रतिशतले निर्यात वृद्धि हुँदै गत वर्ष १२ अर्ब ३१ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको थियो। यो कुल निर्यातको झण्डै १३ प्रतिशत हो।
३. यार्न
तेस्रो स्थानमा रहेको यार्नको निर्यात भने अघिल्लो वर्षभन्दा गत वर्ष घटेको छ। गत वर्ष झण्डै २७ प्रतिशतले घटेको यार्न ७ अर्ब १७ करोडको निर्यात भएको छ। अघिल्लो वर्ष ९ अर्ब ७७ करोड रुपैयाँको निर्यात भएको थियो।
४. र ५. : ऊलन कार्पेट र जुट
चौथो र पाँचौँ स्थानमा रहेको ऊलन कार्पेट र जुट तथा यसका उत्पादनको निर्यात पनि घटेको छ। ऊलन कार्पेट १८.५ प्रतिशतले घट्दै ६ अर्बको निर्यात भएको छ भने जुट तथा यसका उत्पादन झण्डै ९ प्रतिशतले घट्दै ५ अर्ब ५८ करोडको निर्यात भएको छ।
कुनै बेला शीर्ष स्थानमा रहेको तयारी कार्पेटको निर्यात झण्डै २४ प्रतिशतले घट्दै ४ अर्ब ८४ करोडको निर्यात भएको छ। यो छैठौँ स्थानमा छ। त्यस्तै, केही वर्ष शीर्ष स्थानमा रहेर निर्यात भएको अलैँची निर्यात सूचीको सातौँ स्थानमा छ।
यो गत वर्ष झण्डै ७ प्रतिशतभन्दा धेरैले घट्दै ३ अर्ब ९६ करोडको निर्यात भएको छ। त्यसपछि क्रमशः जुस, आइरन स्टिल र चिया निर्यात भएको छ।
यी हुन् गत वर्ष उच्च निर्यात भएका पाँच वस्तु
| वस्तु | २०७५/०७६ | २०७६/०७७ | घटबढ दर (%) |
| पाम आयल | १०,३३,३०,५१,००० | १८,३१,७९,८०,००० | ७७.३ |
| सोयाबिन आयल | २,३४,६३,७०,००० | १२,३१,३४,४१,००० | ४२४.८ |
| यार्न | ९,७७,६१,६५,००० | ७,१७,०८,०४,००० | –२६.७ |
| ऊलन कार्पेट | ७,३६,९६,९५,००० | ६,००,९६,१९,००० | –१८.५ |
| जुट र जुट उत्पादन | ६,०९,३०,५३,००० | ५,५८,२१,४२,००० | –८.४ |
Shares

प्रतिक्रिया