अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन नाकाबाटै फिर्ता पठाइएकाे छ। यस्तै हालसम्म १९ हजार चार सय यात्रुहरुलाई पनि प्रवेश नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयले जनाएकाे छ।
गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी तोकिएको निर्देशन विपरित हालसम्म सवारी चलाउने करिब एक लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको जनाएकाे छ भने हालको जोर विजोर प्रणाली पश्चात सो प्रणाली विपरित सवारी चलाउने करिव पाँच हजार तीन सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको स्पष्ट पारेकाे छ।
कोभिड-१९ को संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा सोको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी विभिन्न मितिका आदेश, निर्देशन तथा निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्दै कोभिड-१९ को नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड तथा गृह मन्त्रालयद्वारा यस सम्बन्धमा जारी निर्देशन तथा परिपत्रहरुको कडाईपूर्वक कार्यान्वयन गर्न मातहतका सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृहले पुन: निर्देशन दिएकाे छ।

प्रतिक्रिया