कारोबार


अविरल वर्षात् र बाढीका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

अविरल वर्षात् र बाढीका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

नेपालखबर
असार २६, २०७७ शुक्रबार ६:१३,

अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए। बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताए।

‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’,घिसिङले भने, ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’

उनले बन्द रहेका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए।
बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ।

कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युत्गृह कतिवेला संचालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए।

प्राधिकरणका ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायतका विद्युतगृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ ।

भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुंडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad