समाज


साढे पाँच करोड लागतमा बर्दिबासमा ५० बेड क्षमताको सरकारी अस्पताल सञ्चालन

साढे पाँच करोड लागतमा बर्दिबासमा ५० बेड क्षमताको सरकारी अस्पताल सञ्चालन

नेपालखबर
असार २६, २०७७ शुक्रबार ६:२४,

महाेत्तरीकाे बर्दिबासमा ५० बेड क्षमताको सरकारी अस्पताल सञ्चालनमा आएको छ। सरकारको झण्डै साढे पाँच करोड रुपैयाँ लागतमा निर्मित भवनमा अस्पताल सञ्चालन गरिएको हो।

शुक्रबार बिहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अस्पतालको उद्घाटन गरेका छन्। १० वर्ष अघि नै अस्पताल भवनको शिलान्यास भएपनि ढिलो गरी निर्माण पूरा भएको हो। निर्माण सकिएसँगै अस्पताल सञ्चालनमा आएको बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले जानकारी दिए।

भवन निर्माणका लागि बर्दिबास नगरपालिका २ मा स्थानीयले १९ कठ्ठा जग्गा निःशुल्क उपलव्ध गराएका छन्। भवन निर्माणमा पाँच करोड ३५ लाख रुपैयाँ भन्दा धेरै खर्च भएको छ।

भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले बर्दिबासमा सुविधासम्पन्न अस्पताल सञ्चालनमा आउनु स्थानीयबासीका लागि सुखद भएको बताए।

BidhiBigyan Girirajmani

हाललाई अस्पताल कोरोना संक्रमित बिरामीको उपचारमा मात्रै प्रयोग गरिने मेयर कार्कीले जानकारी दिए। ‘अहिलेलाई अस्पतालमा कोभिड १९ का बिरामी मात्र राख्ने सहमती भएको छ,’ मेयर कार्कीले नेपालखबरसँग भने, ‘त्यसका लागि पिसिआर मेसिनसहित उपकरणको व्यवस्थापन भइरहेको छ।’

उनले कोभिड संक्रमणको त्रास हटेपछि अस्पताबाट सबै खालका बिरामीले सेवा पाउने जानकारी दिए। तीनतले अस्पताल भवनमा ८६ वटा कोठा छन्। यसअघि बर्दिबास अस्पताल २० शय्या क्षमतामा सञ्चालन हुँदै आएको थियो।

यसैबीच बर्दिबासको गौरीडाँडामा शुक्रबारै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको पनि उद्घाटन गरिएको छ।

शिक्षामन्त्री पोखरेलले विधि विज्ञान प्रयोगशाला प्रदेश २ कार्यालयको उद्घाटन गरेका छन्। कार्यालयमा अब सबैखाले परीक्षण हुने बताइएको छ।

कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, प्रदेश २ की सांसद शारदा थापा, नेकपाका केन्द्रीय सदस्य प्रकाश पोखरेललगायतको उपस्थिति थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad