बैंकका सहायक कम्पनीलाई सेयर बजारको ब्रोकर लाइसेन्स दिन संसदीय उपसमितिले सिफारिस गरेको छ।
संसदको अर्थ समितिले राम कुमारी झाँक्री नेतृत्वमा गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदनले बैंकको सहायक कम्पनी पनि सेयर बजारको ब्रोकर बन्नसक्ने बताएको हो।
वाणिज्य बैंकको सहायक कम्पनीले आवश्यक मापदण्ड पूरा गरेको खण्डमा धितोपत्र बोर्डले त्यसको लाइसेन्स दिनुपर्ने सिफारिस प्रतिवेदनले गरेको झाँक्रीले बताएकी हुन्।
उनले अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहाललाई प्रतिवेदन बुझाउँदै अहिले ब्रोकर लाइसेन्स पाएका कम्पनीहरु र बैंकहरुलाई लाइसेन्स दिएपछि एक आपसमा गाभ्ने/गाभिने नीति समेत अवलम्बन गर्नसक्ने विषय प्रतिवेदनमा उल्लेख गरेको बताइन्।
उपसमितिले प्रतिवेदनमार्फत वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसाय अनुमति दिनुपहिले विभिन्न प्रश्नहरुको सम्बोधन हुनुपर्ने पनि जनाएको छ।
समितिले सहायक कम्पनी र मुख्य कम्पनीबचिको अन्तर्सम्बन्ध र सेयर खरिदबिक्री कारोबारको सीमा के हुने?, भित्री कारोबारलाई नियन्त्रण वा निरुत्साहित गर्न कानुनी व्यवस्था पर्याप्त भए नभएको, त्यस्तो कारोबार पहिचान गर्न नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा अन्तर्राष्ट्रियस्तरको स्वचालित बजार सुपरिवेक्षण प्रणालीको व्यवस्था भए, नभएको, वास्तविक समय अनुगमन गर्न आवश्यक संयन्त्र भए, नभएको, धितोपत्र बजारमा वास्तविक क्षेत्रको हिस्सा कति प्रतिशत हुनुपर्ने, वाणिज्य बैंकका शाखाहरुले नै सहायक कम्पनीको काम गर्ने वा सहायक कम्पनीका अलग शाखाहरु देशव्यापी रुपमा सञ्चालित हुनेलगायतका प्रश्नहरुको सम्बोधन गर्नुपर्ने औँल्याएको छ।

प्रतिक्रिया