गत शुक्रबार राति गएको अविरल वर्षाका कारण गएको पहिरोमा परेर विस्थापित बझाङका १८ परिवारले अझै सरकारबाट राहत पाउन सकेका छैनन्।
राहत अभावमा विस्थापित परिवार बिचल्लीमा परेका छन्।
बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शुक्रवार राति गएको पहिरोका कारण विस्थापित भएका १८ परिवारले पाँच दिन बितिसक्दा पनि राहत नपाउँदा उनीहरुको बिजोग भएको हो।
संघ र प्रदेश सरकारले पठाएको राहत प्रभावित क्षेत्रमा अझै नपुगेको वडाध्यक्ष गणेश बोहराले बताए।
पहिरोले जनधन गुमाएर राहतको पर्खाइमा बिचल्लीमा परेका १८ परिवारका १५० जनालाई सरकारले नहेरेपछि आफन्तको शरणमा पुगेका छन्।
पहिरो विस्थापितलाई केही दिन स्थानीय नवादेव प्राथमिक विद्यालयको भवनमा राखिएको थियो। त्यहाँबाट अहिले उनीहरुलाई आफन्तकहाँ राखिएको वडाध्यक्ष बोहरा बताउँछन्।
‘कम्मल र त्रिपाल पुगेको छ। तर रासन अझै पुगेको छैन्,’ उनले भने, ‘अहिलेका लागि केही रासन गाउँपालिकाले दिएको छ।’
पीडितहरु जसोतसो आफन्तकहाँ पुगे पनि बस्ने ठाउँ नहुँदा गोठमा बस्न परेको छ भने खाना र ओड्ने बिछ्याउनेको अभाव छ।
शनिवार नै जिल्ला प्रशाासन कार्यालयले राहत सामग्री प्रभावित क्षेत्रका लागि पठाएको थियो। पहिरो प्रभावित क्षेत्रसम्म पुग्ने ग्रामिण सडकहरु खोलाले बगाएपछि आवतजावत गर्न समस्या भएकोले पठाइएको चामल स्थानीय झोता बजारमै राखिएको प्रशासनले जनाएको छ।
राहतस्वरुप पठाइएका केही त्रिपाल र कम्मल भने बोकेर प्रभावित क्षेत्रमा पुर्याइएको हो।

एक जना अझै बेपत्ता
पहिरोमा पुरिएका ७ जनामध्ये ६ जनाको शव निकालिएको छ। बेपत्ता २२ वर्षीय गिरी जेठाराको अवस्था अज्ञात रहेको वडाध्यक्ष बोहराले बताए। खोजी कार्य जारी छ।
पहिरोमा ठुलो भौतिक सम्पत्तिका साथै पशुचौपायामा पनि क्षति भएको प्रहरीले जनाएको छ।
पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयोग जेठारा, १३ वर्षीया छोरी अस्मीता, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको शव शनिवार नै भेटिएको थियो।
६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँका अरु घर पनि जोखिममा परेका छन्।

प्रतिक्रिया