कारोबार


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सकियो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सकियो

कृष्ण दवाडी
असार २०, २०७७ शनिबार ७:५१,

 राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ। आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो।

रु २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म दुई हजार ५०० मिटर लामो धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको सिभिलतर्फको काम सम्पन्न भएको हो।

त्यसैगरी भवन, ह्यांगर, पार्किङ, सडक, नालालगायत आयोजनाको हालसम्म समग्रमा ६० प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए। टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, भवनमा आल्मुनियम प्लेट, टायल राख्ने, सीसा हाल्नेलगायतका काम अहिले जारी रहेको उनले जानकारी दिए।

आयोजना प्रमुख मुनकर्मीले भने, ‘हालको विषम अवस्थासमेतमा नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ, पूर्णक्षमतामा काम हुन नसके पनि आयोजनाको काम रोकिने अवस्था भने आएको छैन।’ बन्दाबन्दीमासमेत आयोजनाको कामले निरन्तरता पाएको हो। गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन नसके पनि दैनिक १०० नेपाली र २५० चिनियाँले बन्दाबन्दीसमेतमा काम गरिरहेका छन्।

यसअघि सो आयोजनामा ५०० मजदुरले काम गर्दथे। अंग्रेजी नयाँ वर्ष मनाउन घर गएका कतिपय चिनियाँ कामदार कोरोनाका कारणले काममा फर्कन नपाउँदा आयोजनाको काम छ महिना आंशिक प्रभावित भएको बताएको छ। तोकिएको मितिभन्दा छ महिनाअघि आयोजना सम्पन्न गरी परीक्षण उडान शुरु गर्ने लक्ष्य राखिएको थियो। कोरोनाका कारणले निर्माण सामग्री र जनशक्ति अभाव हुँदा काम प्रभावित भएकाले पछिल्लोपटक सम्झौतामा उल्लेख समयसीमाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सिभिलतर्फका अधिकांश काम सम्पन्न भएकाले तोकिएको मितिमा आयोजनाको काम पूरा हुने विश्वास गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीबीच सन् २०१४ मा विमानस्थल निर्माणको सम्झौता भएको थियो। विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ। इपीसि (इन्जिनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन (आईकायो)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गर्ने सम्झौतामा भएको थियो। पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि बोइङ ७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमान मात्र अवतरण गर्न मिल्ने बताइन्छ।

सामान आयो, जनशक्ति अभाव
लामो समय भारतको कोलकाता बन्दरगाहमा रोकिएको आयोजनाका निर्माण सामग्री पोखरा आइपुगेको छ। चार महिनाअघिदेखि कोलकातामा रोकिएका नौ कन्टेनर सामान हालै आयोजनास्थलमा आए पनि चीनबाट आउनुपर्ने मजदुर तथा केरुङ नाकामा रोकिएका सामग्री भने अझै आइनपुग्दा काम प्रभावित भएको आयोजनाले जनाएको छ। ट्रान्सफर्मर, डेकोरेसन तथा स्ट्रक्चर, पार्टस् तथा सिमेन्टलगायतका सामग्री बन्दरगाहमा रोकिएकामा केही दिनअघि मात्र ल्याइएपछि आयोजनाको काम रोकिने अवस्था नरहेको बताइन्छ।

मौज्दात सामग्रीले बन्दाबन्दीमा काम सञ्चालन भए पनि लामो समय रोकिएका सामान ल्याउन नसकेको खण्डमा असारदेखि काम ठप्प हुने आयोजनाले जनाएको थियो। ‘रोकिएका सामग्री त आयो तर अझै चिनियाँ मजदुर ल्याउन बाँकी छ, सामान आएर मात्र समाधान होइन, सम्बन्धित काममा दक्ष जनशक्ति नहुँदासम्म काम प्रभाति हुने अवस्था रहन्छ, यसका लागि नागरिक उड्डयन प्राधिकरणसँग कुरा गरिरहेका छौँ’, मुनकर्मीले भने। आयोजनाको कतिपय काम चिनियाँ मजदुरले गर्नुपर्ने भएकाले समेत उनीहरु नआउँदासम्म काम प्रभावित हुने बताइन्छ।

केरुङ नाकामा रोकिएका आयोजनाका निर्माण सामग्रीसमेत नेपाल ल्याउनका लागि आवश्यक सहयोग मागिएको आयोजनाले जनाएको छ। विमानस्थलका लागि साविक छिनेडाँडा हाल पोखरा–१४ मा विसं २०३२ मा तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो। त्यसपछि ५२१ रोपनी तथा पछिल्लोपटक थप १०४ रोपनी जमिन अधिग्रहण प्रक्रिया शुरु भएसँगै विमानस्थलले कूल तीन हजार ७२५ रोपनी क्षेत्रफल ओगट्ने छ। पर्यटकीय शहर पोखरामा सो विमानस्थल सञ्चालनमा आएसँगै विश्वका विभिन्न शहरमा सिधा हवाई सम्पर्क स्थापित हुने भएकाले थप पर्यटन प्रवद्र्धन हुने विश्वास पोखरेलीले लिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad