पर्यटकीय क्षेत्र ठमेलको व्यवसाय बचाइराख्ने उद्देश्यले घरधनी र भाडावाल व्यवसायीबीच भाडा समायोजन सुरु भएको छ।
एक वर्षसम्म अहिले कायम रहेको भाडामा ५० प्रतिशत छुट दिन व्यवसायीले गरेको आग्रहलाई सकारात्मक लिँदै केही घरधनीले सहमति सुरु गरेका छन्।
अहिलेसम्म झण्डै २ सय व्यवसायीसँग त्यस्तो सहमति भइसकेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष तथा भाडा समायोजन समिति संयोजक भविश्वर शर्माले बताए।
‘व्यवसायी हिँड्न थालेपछि घरधनीले आधा भाडा लिन सहमति गर्नुभएको छ’, शर्माले भने, ‘जो व्यवसायी हिँड्न थाल्नुभएको थियो, उहाँहरुलाई घरधनीले रोक्नुभएको हो।’
एउटै घरधनीको घरमा २०/२२ जनासम्म व्यवसायीले भाडा लिएको अवस्थामा एकै पटक घर खाली हुनथालेपछि घरधनी र व्यवसायी दुवैलाई सहज हुने गरी सहमति सुरु भएको हो।
आइतबार त्यस क्षेत्रका ११ संघ÷संस्थाले व्यवसाय बचाइराख्न एक वर्षसम्मलाई भाडामा ५० प्रतिशत छुट दिन सामूहिक रुपमा आग्रह गर्दै विज्ञप्ति निकालेका थिए।
‘हाम्रो आग्रहलाई व्यवसायीहरुले सकारात्मक लिनुभएको छ’, शर्माले भने, ‘उहाँहरुले ठमेल क्षेत्रमा पर्ने असर र व्यवसायीहरुको पलायन नहोस् भन्ने सदिच्छा राखेर सहमति सुरु गर्नुभएको हो।’
कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व पर्यटन क्षेत्रलाई प्रभाव पारेको कारण नेपालको पर्यटकीय क्षेत्र ठमेल ठप्पप्रायः छ। अझै एक डेढ वर्षसम्म पर्यटक आगमन नहुने भएकाले यहाँका व्यवसायीको पलायन रोक्न भन्दै सम्बद्ध व्यवसायीहरुले ५० प्रतिशत भाडा समायोजन गरिदिन घरधनीहरुलाई आग्रह गरेका थिए।
घरधनी र भाडावालबीच आपसी सम्झौता जस्तोसुकै भए पनि घर भाडा एक वर्षको लागि ५० प्रतिशत घटाइदिन आग्रह गरेका हुन्। साथै, विद्युत् महशुल पनि ५० प्रतिशत घटाइदिन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको शर्माले बताए।
घरधनीसँगको सामान्य छलफलपछि यो सार्वजनिक रुपमा यो आग्रह गरेको शर्माले बताए।
तीन महिनादेखिको लकडाउनका कारण ठमेल क्षेत्र पूर्णरुपमा बन्द भएको थियो। यो क्षेत्र पर्यटकसँग निर्भर भएकाले आगामी एक वर्षसम्म पनि व्यवसाय नहुने भएकाले व्यवसायीहरु मर्कामा परेका छन्।
कतिपय व्यवसायी सटरको चाबी घरधनीलाई बुझाएर हिँडिसकेका छन्। शर्माका अनुसार अहिलेसम्म १५० सटर खाली भइसकेका छन् भने त्यति नै संख्याका कास्मिरी व्यवसायी समेत व्यवसाय छोड्ने सोचमा पुगेका छन्।
त्यस क्षेत्रमा १५ हजार देखि २५ लाखसम्म भाडा छ। ठमेल क्षेत्रमा २ सय घरधनी र १० हजार व्यवसायीहरु रहेका छन्।
भाडा समायोजन गर्न आग्रह गर्ने संघ÷संस्थाहरुमा ठमेल पर्यटन विकास परिषद, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल पर्वतारोहण संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीहरु रहेका छन्।
त्यस्तै, अन्य संस्थाहरुमा नेपाल पर्यटक यातायात व्यवसायी संघ, टुरिष्ट बस एसोसिएसन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी संघ नेपाल र कैलाश यात्रा संघ रहेका छन्।
Shares

प्रतिक्रिया