नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ५ बजेसम्म बन्द हुने भएको छ।
यसअघि आज बिहानै त्रिभुवन विमानस्थलको धावनमार्गमा यति एयरलाइन्सको जहाज चिप्लिएर धावनमार्गमै रहेका कारण विमानस्थल २ बजेसम्म र त्यसपछि ३ बजेसम्मका लागि बन्द गरिएको थियो।
विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार सुरुमा साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो। त्यसपछि पनि चिप्लिएको विमान निकाल्न केही समय लाग्ने भएपछि सवा २ बजेसम्म नोटामको समय थप गरिएको थियो। जहाज निकाल्न नसकिएपछि ३ बजेसम्मलाई नोटाम अद्यावधिक गरिएकोमा पुनः ५ बजेसम्मका लागि थप गरिएकाे प्रवक्ता तिवारीले बताए। अहिले उक्त जहाजलाई धावनमार्गबाट हटाउने काम भइरहेको छ। उक्त काम सकिएपछि विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र अवतरण सुचारु हुने प्रवक्ता तिवारीले जानकारी दिए।
नेपालगञ्जबाट आएको यतिको फ्लाइट नं. एनवाइटी–४२२ एटीआर ७२–५०० सो जहाजमा ३ जना चालक दल सदस्यसहित ७० जना यात्रु रहेका थिए। अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको थियो।

प्रतिक्रिया