आइसीसी टि–२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम तयारी स्वरुप नेपालले शनिबार र आइतबार(असार २८ र २९) किनरारा ओभल मैदान क्वालालाम्पुरमा मलेसियाविरुद्ध दुईवटा अन्तर्राष्ट्रिय टि–२० शृंखला खेल्दैछन्।
अन्तिम तयारी र मेलेसियासँग शृंखला खेल्न नेपाली नेपाली टोली गत मंगलबार(असार २४) नै त्यसतर्फ प्रस्थान गरिसकेको छ। बुधबार नेट अभ्यास र बिहीबार अभ्यास खेल खेलेको नेपाली टोलीले पहिलो खेलअघि शुक्रबार भने आराम गर्दैछ।
यो पनि: यसपटक अझै राम्रो प्रदर्शनका साथ आउनेछौंः पारस खड्का(अन्तर्वार्ता)
आइसीसीको टि–२० अन्तर्राष्ट्रियको वरियतामा ११ औं स्थानमा रहेको नेपाल मलेसियाविरुद्धको शृंखला र एसिया छनौट दुबैको दाबेदार टोली हो।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीले गत जनवरीमा यूएईविरुद्धको टि–२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेपछि मलेसियासँग खेल्न लागेको हो।
यो पनि: त्यसपछि सागर स्पिनर बनेर चम्किए
२०१४ को टि–२० विश्वकपको समूह चरणको खेलमा हङकङ र अफगानिस्तानलाई पराजित गरेको नेपाल दोस्रो पटक विश्वकप खेल्ने उदेश्यसहित मलेसिया पुगेको हो।
मंगलबारमात्रै एसीसी यू–१९ पुर्वी क्षेत्रीय प्रतियागिता जितेको टोलीका कप्तान रोहितकुमार पौडेल र ओपनर पवन सर्राफ पनि बुधबारदेखि राष्ट्रिय टोलीमा सम्मेलित भइसकेका छन्।
यो पनि: नेपाल फेरि विश्वकप खेल्न कस्सियो
अघिल्लो वर्ष भएको टि–२० विश्वकप छनौटको एसिया उपक्षेत्रीय प्रतियोगिता जित्दाका सर्वाधिक विकेट टेकर(२४ विकेट) सन्दीप लामिछाने सहित उत्कृष्ट प्रदर्शन गर्नेहरु प्रदीप ऐरी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी लगायतका खेलाडीहरु यसपटक टोलीमा छन्।
स्वास्थ्यको समस्याका कारण यूएईविरुद्धको टि–२० शृंखला गुमाएका शरद भेषावकर नेपाली टोलीमा फर्कदा त्यही शृंखलामा अर्धशतक प्रहार गर्दै टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कान्छो अर्धशतक बनाउँने कीर्तिमान राखेका १७ वर्षिया सन्दीप जोराले भने टोलीमा स्थान बनाउँन सकेनन्।
गत महिना किनरारा मैदानमा नै मलेसियाले थाइल्याण्ड र माल्दिभ्सविरुद्ध त्रिदेशीय शृंखला खेलेको थियो। सो क्रममा थाइल्याण्डलाई दुई पटक र माल्दिभ्सलाई एकपटक पराजित गरेको मलेसिया एकवरियता सुधार गर्दै टि–२० वरियताको ३५औं स्थानमा पुगेको छ।
मलेसियन क्रिकेट संघले थाइल्याण्ड र माल्दिभ्सविरुद्धको त्रिदेशीय शृंखला खेलेका १३ जना खेलाडीसहित बलर प्रदीप सिंहलाई नेपालविरुद्ध उतार्ने तयारी गरेको छ।
हेड टू हेड
नेपाल र मलेसिया टि–२० फम्र्याटमा हालसम्म चारपटक भिडेका छन्। २००७ यता भएका चार खेलमा नेपालले ३–१ को जित हात पारेको छ।
मलेसियाले एकपटकमात्रै २००९ मा भएको एसीसी टि–२० कपमा नेपाललाई ६ विकेटले पराजित गरेको थियो। त्यसबाहेक ३ खेलमा नेपालले जित हात पार्दै आएको छ।
नेपाल र मलेसियाबीच यसअघि भएका टि–२० भेटहरु
२०१८–नेपालद्वारा मलेसिया ८ विकेटले पराजित–आइसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय प्रतियोगिता, वायुमास, मलेसिया
२०१३– नेपालद्वारा मलेसिया १९ रनले पराजित– एसीसी ट्वान्टी–२० कप, काठमाडौं
२००९– मलेसियाद्वारा नेपाल ६ विकेटले पराजित– एसीसी ट्वान्टी–२० कप, शारजहा, यूएई
२००७– नेपालद्वारा मलेसिया २१ रनले पराजित– एसीसी ट्वान्टी–२० कप, कुवेत सिटी
नेपाली टोली
कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी।
मलेसियाको टोली
अहमद फैज मोहम्मद नुर(कप्तान), साफिक सारिफ, विरनदीप सिंह, अन्वर रेहमान, सयादन रामली, अनवर अरुदिन, फित्री शाम, साइद अजिज साइद मुबारक, पावनदीप सिंह, सार्भिन मुनिन्दी, नार्जिल अबद रेहमान, पासा साफिक अली, अमुद्दिन रामली, नेभिल्ली लियाङ्गी

प्रतिक्रिया