नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको अवसरमा निमार्ण सामग्रीमा मुल्य वृद्धि गरिएको भन्दै तत्काल रोक्न सरकारसंग आग्रह गरेको छ। महासंघले निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मूल्य बढाएको भन्दै रोक्न माग गरेको हो।
‘प्रतिकूल अवस्थाको फाइदा उठाउँदै निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मिलोमतोमा अत्यधिक मूल्यवृद्धि गरिएको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासंघले भनेको छ, ‘बन्दाबन्दी अगाडिको मूल्य र हालको मूल्यमा सिमेन्ट प्रतिबोरामा ८० देखि १२० रुपैयाँ र रड प्रतिकिलो १० देखि १५ सम्म मूल्यवृद्धि भएको छ।
त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दी अगाडिको मूल्यमा डेढ गुणा बढी मूल्यवृद्धि भएको महासंघले उल्लेख गरेको छ। विश्व बजारसहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य नहुने महासंघले जनाएको छ।
महासंघले कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायीहरु १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मूल्य समायोजन नहुँदा थप समस्यामा परेको बताएको छ।
मूल्यवृद्धिको कारण विकास निर्माणका कार्यहरुमा थप लागत बढ्न गई नेपाल सरकारलाई नै आर्थिक भार पर्न जानेछ। सरकारले लकडाउनको समयमा विकास निमार्णका कार्यलाई निरन्तरता दिने निणर्य गरेको छ। तर निर्माण सामग्री तथा श्रमिकको अभावले विकास निमार्णका धेरै काम ठप्पै रहेका छन्।

प्रतिक्रिया