असार १० गते भित्र स्थानीय तहहरूले नगरसभा गरिसक्नु पर्ने कानुनी व्यवस्था छ। तर धनुषाका जनकपुरधाम उपमहानगरपालिकासहित ३ स्थानीय तहले निर्धारित समयावधिभित्र नगरसभा गरेनन्।
१८ वटा स्थानीय तह रहेको धनुषामा एक उपमहानगरपालिका, ६ वटा गाउँपालिका र ११ वटा नगरपालिका छन्। जसमा जनकपुरधाम उपमहानगरपालिका र दुई वटा नगरपालिकाले नगरसभा नगरेका हुन्।
मधेस प्रदेशको राजधानी समेत पर्ने जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले निर्धारित समयमा नगरसभा गरेनन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ अनुसार असार १० गतेभित्र स्थानीय तहले नगरसभा/गाउँसभा र असार ३० गतेसम्म सभामा प्रस्तुत बजेट पारित गरिसक्नु पर्छ। असार १० भित्र सभा गर्नैपर्ने वाध्यता नरहेपनि बजेट चाहिँ असार ३० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
मेयर मनाेज साह नेपाल बाहिर रहेका कारण जनकपुरधाम उपमहागरपालिकाले नगरसभा गर्न नसकेकाे हो।
उपमहानगरपालिकाका उपमेयर किशोरी साहले मेयर कार्यालयमा नहुँदा समयमा नगरसभा गर्न नसकिएकाे बताए।
यस्तै विदेह नगरपालिकाका प्रमुख बेचन दासले आर्थिक वर्ष २०८१/८२ को बजेट फर्स्योट हुन नसकेका कारण नगरसभा गर्न नसकिएकाे बताएका छन्। उनले भने, ‘जेनजी आन्दोलनको क्रममा अफिसमा आगो लाग्यो। पुरानो हाकीम साहेबले फाइल प्रमाणित गर्दा हरहिसाब फर्स्योट गर्न बाँकी रहेकाले नगरसभा गर्न सकिएकाे छैन।’
उता, कमला नगरपालिकाका मेयर विशेश्वर यादवले जनप्रतिनिधिबिचको विवादले समयमा नगरसभा गर्न नसकेको बताए। उनले अब चाँडै बाेर्डको बैठक बसेर नगरसभाको मिति तय गरिने जानकारी दिए।
धुनुषाको गणेशमान चारनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनीयाँ गाउँपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिकाले हिजै नगरसभा सकेका छन्।
यस्तै, सबैला नगरपालिका, शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, मिथिला बिहारी नगरपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपािलका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिकाले पनि नगरसभा गरेका छन्।
केही स्थानीय तहले नगरसभाबाट बजेट पारित समेत गरिसकेका छन् भने अधिकांशको नगरसभामा बजेट पेश भएपनि पारित हुन बाँकी छ।
Shares

प्रतिक्रिया