होटल्स एसोसिएसन अफ नेपाल (हान) र पर्यटन विभागबीच होटलहरुलाई क्वारेन्टिन बनाउनेबारे छलफल सुरु भएको छ।
हान प्रतिनिधि मण्डलले विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग होटललाई क्वारेन्टिन बनाउननेबारे छलफल गरी सोमबार विवरण बुझाएको हानले जनाएको छ।
हान अध्यक्ष सृजना राणा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड १९ बाट सृजित राष्ट्रिय संकटलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यले विदेशबाट नेपाली ल्याउँदा होटललाई क्वारेन्टिनका रुपमा उपयोग गर्ने निर्णय गरे संघमा आबद्ध सदस्य होटलबाट सरकारसँग समन्वय गर्ने बताएको छ।
त्यस्तै हानले स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिने व्यक्तिलाई आवश्यकताअनुसार होटलमा क्वारेन्टिनको व्यवस्था गर्न सकिने जनाएको छ।
क्वारेन्टाइनको रुपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेकइन पूर्व नै निर्धारित उपयुक्त स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको एकिन हुने प्रमाण हुनुपर्ने र प्रत्येक दिन पटक पटक स्वास्थ्य जाँच हुनुका अतिरिक्त नेपाल सरकारले होटल संचालनका लागि कानुनी अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरुको कुनै क्षति नहुने, कामदार कर्मचारी तथा छिमेकका स्थानीय समुदायसमेत कोरोना संक्रमणबाट पूर्ण रुपमा बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल संचालन हुनुपर्ने पनि विवरणपत्रमा स्पष्ट उल्लेख गरिएको छ ।
क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवद्र्धक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुलीलगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु नेपाल सरकारको वर्गिकरण अनुसार पर्यटकस्तरीयदेखि पाँच तारे होटलहरुमा लाग्ने अनुमानित खर्चहरुको शीर्षकअनुसार न्यून्तम आधारको रुपमा सबै सदस्य होटलहरुको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्चालन निर्णयका लागि शिफारिस गरिएको पनि विवरणपत्रमा उल्लेख गरिएको छ । पछिल्लो २ महिनाभन्दा बढी अवधिदेखि बन्द होटल प्रतिष्ठानहरुमा कर्मचारीको उपलब्धता र भौतिक संरचनारउपकरणहरुको संचालनलाई ध्यानमा राखेर क्वारेन्टाइनको रुपमा होटल संचालन गर्ने नगर्ने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानहरुले लिन सक्ने जनाइएको छ ।
साथै क्वारेन्टाइनको रुपमा संचालन गर्न सकिने होटल प्रतिष्ठानहरुमा उपयुक्त स्वास्थ्य संरक्षण गर्ने विधि तथा व्यवस्था लगायत उपलब्ध पूर्वाधार, सेवा, सुविधा सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारी नियमनकारी आधिकारिक निकायमा दर्ता भए नभएको पनि अद्यावधिक हुनुपर्ने पनि होटल संघ नेपालको विवरणपत्रमा उल्लेख छ ।
यसरी होटललाई क्वारेन्टाइनको रुपमा उपयोग गरी संचालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि होटल संघ नेपालका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने आवश्यकतामाथि पनि संघले जोड दिएको छ ।
विषम परिस्थितमा होटल उद्योग पहिलो र गहिरो मारबाट गुज्रिरहेको हालको अवस्थामा उद्योगधन्दा जिवित राख्नका लागि नै नेपाल सरकारको आगामी बजेटमार्फत उपयुक्त नीति तथा आर्थिक राहतका कार्यक्रमहरु अपेक्षा गरिएको तर्फ इंगित गर्दै होटल संघ नेपालले होटल सञ्चालनका लागि उपयुक्त वातावरण बन्न नसके आगामी ६ महिना कानुनी रुपमा नै बन्द गर्ने निर्णय गरेको पनि उल्लेख गरेको छ।
बजेटमार्फत होटल संघ नेपालले मूलरुपमा रोजगारी संरक्षणकोषको स्थापना, बैंकको ऋण तिर्ने म्याद पुनसंरचना गरी तीन वर्षपछि सार्ने, व्याजदर घटाउने, घरभाडा लगायतका खर्च धान्न सस्तो व्याजदरमा सञ्चालन ऋणका साथै बजेटमार्फत २०३० सम्म पर्यटन सुदृढिकरण दशक घोषणा गरी उपयुक्त पूर्वाधार र विकासका कार्यक्रम संचालन हुनुपर्ने पनि होटल संघ नेपालले जोडदार माग गरेको छ। पर्यटन विदाका कार्यक्रम घोषणा गरेर बजेटले आन्तरिक पर्यटनको उपयुक्त विकासमा जोड दिनसक्ने पनि संघले जनाएको छ ।
होटल संघ नेपालको देशैभरि छरिएका रहेका साथै सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघहरु अन्तर्गत ३ हजार ५ सय होटलहरु सदस्य रहेका छन्।

प्रतिक्रिया