राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले देशका ७७ वटै जिल्लामा सडक सञ्जाल पुगेपनि सडक पूर्वाधारको अवस्था अझै पर्याप्त नरहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित ‘नेपाल फ्युचर फोरम २०२६’ पहिलो वार्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनकाअनुसार हाल नेपालमा करिब एक लाख चार हजार नौ सय किलोमिटर सडक सञ्जाल विस्तार भएको छ।
उनले सडक सञ्जाल पुगेसँगै सबै जिल्लाका नागरिकले यातायात सुविधा पाएपनि कर्णालीलगायतका दुर्गम क्षेत्रमा अझै पहुँच सहज हुन नसकेको बताए। उनले सडक पूर्वाधारको गुणस्तर कमजोर हुँदा दुर्घटना बढिरहेको भन्दै सडकहरु ‘मृत्युमार्ग’ जस्तो बनेको टिप्पणी गरे।
सडक दुर्घटना पनि मुलुकमा मृत्युको प्रमुख कारणमध्ये एक रहेको उनको भनाइ छ।
उनले भने, ‘अहिले देशका ७७ वटै जिल्लामा बाटो पुगेको छ। अहिले नेपालको जम्मे बाटो एक लाख चार हजार नौ सय छ। अहिले हरेक जिल्लाका मानिसहरु गाडीमा घर जानसक्छन्। तर त्यो अझै पर्याप्त छैन। कर्णालीमा पुग्न अझै गाह्रो छ। अनि हाम्रा सडकहरु फेरि मृत्युमार्गजस्ता भएका छन्। मृत्यु हुने कारणहरु धेरै भएपनि सडक दुर्घटना पनि मुख्य कारण छ।
उनले हाल ९७ प्रतिशत नागरिकले पिउने पानी पाइरहेको बताए। तर गुणस्तरीय र नियमित खानेपानीको सुनिश्चितता अझै चुनौतीका रूपमा रहेको उनको भनाइ छ।
उनले भने, ‘हामीले गरेका छौँ तर अझै गर्न बाँकी छ। कहिले काँही मुलुकमका केही भएन भन्ने भाष्य पनि आउँछ। त्यस्तो होइन। अहिले ९७ प्रतिशत नागरिकले पानी पाएको छ। तर सन्तुष्ट भइहाल्ने वातावरण छैन। गुणस्तरीय पिउने पानी पाएको छैन।’
उनले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजना आएपनि व्यवस्थापकीय कमजोरीका कारण आपूर्ति नियमित हुन नसकेको बताए।
Shares

प्रतिक्रिया