बागमती प्रदेशमा पनि सार्वजनिक सवारी साधनमा भएको भाडादर वृद्धिलाई कार्यान्वयनमा ल्याइएको छ।
बागमतीको श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिएको छ।
प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ।
त्यस्तै, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत र मालवाहक सवारी साधनमा २६.७९ प्रतिशतले भाडा बढाइएको छ।
विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी तथा ट्याक्सी सेवाको भाडा भने यथावत राखिएको छ। ती सवारी साधनमा २०७९ वैशाख १ गतेदेखि लागू भाडादर नै कायम रहने मन्त्रालयले जनाएको छ।
भाडा समायोजनअघि सरोकारवाला पक्षसँग छलफल गरिएको थियो। त्यस क्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र महासचिव बद्रीप्रसाद चौलागाईंसहितको टोली मन्त्रालय पुगेको थियो।
उनीहरूले इन्धन मूल्य वृद्धि, सञ्चालन खर्चमा भएको बढोत्तरी तथा ढुवानी क्षेत्रमा परेको दबाबका कारण भाडा समायोजन आवश्यक रहेको धारणा राखेका थिए। बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला, सार्वजनिक यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनाललगायत पदाधिकारी तथा सदस्य सहभागी थिए।
सरकारले बढ्दो इन्धन मूल्य, सञ्चालन लागत र व्यवसायीको दबाबलाई मध्यनजर गर्दै भाडादर समायोजन गरिएको जनाएको छ।
Shares

प्रतिक्रिया