कारोबार


बुटवल पावरले झिमरुकमा सुरु गर्‍यो ५० किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजना

बुटवल पावरले झिमरुकमा सुरु गर्‍यो ५० किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजना

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १८:२९, काठमाडौँ

बुटवल पावर कम्पनीले प्यूठानको दरिमचौरमा ५० किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजना सुरु गरेको छ।

पाइलट परियोजना बीपीसीद्धारा सञ्चालित १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापना गरिएको हो।

यस परियोजनाले नवीकरणीय जलविद्युत ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन (इलेक्ट्रोलाइसिस) प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गर्ने बताइएको छ।

यो परियोजना विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकार अन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ) मार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको बीपीसीले जनाएको छ।

हरित हाइड्रोजनलाई विश्वव्यापीरूपमा न्यून कार्बन ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा वाहकका रूपमा हेरिएको छ।

नवीकरणीय स्रोतबाट उत्पादित बिजुली प्रयोग गरी पानीलाई विद्युत् अपघटन प्रक्रियामार्फत विभाजन गरेर हरित हाइड्रोजन उत्पादन गरिन्छ। यसरी उत्पादन गरिएको हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण सहित प्रत्यक्ष विद्युतिकरण कठिन हुन सक्ने क्षेत्रहरुमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताइएको छ।

बीपीसीको पाइलट प्लान्टमा ५० किलोवाट क्षमताको अल्कलाइन इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ। जसले ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्छ। उत्पादित हाइड्रोजनलाई १५० बार प्रेसरमा कम्प्रेस गरि  सिलिण्डरहरूमा भण्डारण गरिनेछ। जसबाट विभिन्न सम्भावित प्रयोगहरूको परीक्षण तथा मूल्यांकन गर्न सकिने बताइएको छ। यो प्लान्ट १३ अप्रिल २०२६ मा सफलतापूर्वक सञ्चालनमा ल्याइएको थियो। सोही दिन पहिलो हाइड्रोजन सिलिण्डर सफलतापूर्वक भरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad