कारोबार


आन्तरिक उडानको भाडा अत्यधिक वृद्धि, धनगढीभन्दा दिल्ली पुग्न सस्तो

आन्तरिक उडानको भाडा अत्यधिक वृद्धि, धनगढीभन्दा दिल्ली पुग्न सस्तो

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल। काठमाडौंबाट दिल्लीका लागि नेपाल एयरलाइन्स बाहेक एयर इन्डिया, इन्डिगो सहितका वायुसेवा कम्पनीले नियमित उडान भर्छन्।


नेपालखबर
चैत १८, २०८२ बुधबार १७:५६, काठमाडौँ

हवाई इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिसँगै आन्तरिक उडानको भाडादर झण्डै दोब्बरले महँगिएको छ। नयाँ भाडादर अनुसार अब काठमाडौँबाट सुदूरपश्चिमको धनगढी जान लाग्ने खर्चभन्दा भारतको राजधानी नयाँ दिल्ली पुग्न कम सस्तो छ।

आउने शनिबारका लागि काठमाडौँ-धनगढीको एकतर्फी भाडा अधिकतम २१ हजार ६०८ रुपैयाँ पुगेको छ। रोचक के छ भने, सोही दिन काठमाडौँबाट अन्तर्राष्ट्रिय उडानमार्फत नयाँ दिल्ली जान १७ हजार ९ सय ४९ रुपैयाँ मात्रै लाग्ने देखिन्छ। 

यो टिकट दर बुधबार दिउँसो समाचार लेख्दाको समयको हो। नेपाल वायुसेवा निगम, मेकमाईट्रिपमा नेपाली रूपैयाँ १८ हजार देखिएको नयाँ दिल्लीको भाडा इसेवामा १७ हजार छ।

वायुसेवा निगम र अन्य बुकिङ एजेन्सीहरूको रेटमा दिल्लीको भाडा केही तलमाथि भए पनि आन्तरिक उडानको लामो दूरी र अन्तर्राष्ट्रिय उडानको भाडादर झण्डै बराबरीको रेखामा आइपुगेको हो।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा ९८ प्रतिशतसम्म वृद्धि गरेपछि वायुसेवा सञ्चालकहरूले ‘फ्युल सरचार्ज’ मा भारी वृद्धि गरेका हुन्। आयल निगमले प्रतिलिटर १२७ रुपैयाँमा बिक्री भइरहेको इन्धनलाई एकैपटक २५१ रुपैयाँ कायम गरेपछि हवाई सेवा प्रदायकहरूले बुधबार बिहान १ बजेदेखि नै लागू हुने गरी नयाँ भाडासूची सार्वजनिक गरेका हुन्।

कुन रुटमा कति बढ्यो ?

सबैभन्दा धेरै मार काठमाडौँ-धनगढी रुटमा परेको छ, जहाँ फ्युल सरचार्ज मात्रै एकैपटक ५ हजार ४८० रुपैयाँले बढेको छ। यस्तै, पर्यटकीय क्षेत्रका लागि लोकप्रिय ‘माउन्टेन फ्लाइट’ को मूल्य १३ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ।

अन्य रुटहरूको वृद्धिदर यस्तो छ:

सामान्यतया इन्धनको मूल्य बढ्दा दुई दिनपछि मात्रै नयाँ भाडा लागू हुने प्रचलन भए पनि यसपटक मंगलबार मध्यरातदेखि नै नयाँ दर कार्यान्वयनमा ल्याइएको छ।

युद्धको बाछिटा र निगमको घाटा

आयल निगमका अनुसार पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ। यही मूल्यवृद्धिका कारण पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको निगमको दाबी छ।

हवाई भाडा निर्धारण गर्दा फेयर (आधारभूत भाडा), फ्युल सरचार्ज र विमानस्थल सेवा शुल्क समावेश गरिन्छ। तर, आधारभूत भाडा स्थिर रहे पनि इन्धनको शुल्क (सरचार्ज) ले आकाश छुँदा सर्वसाधारणका लागि हवाई यात्रा 'आकासको फल' जस्तै बनेको छ। विशेषगरी दुर्गम र लामो दूरीका यात्रुहरू अब सडक यातायात वा महँगो हवाई टिकटमध्ये एउटा कठिन विकल्प रोज्न बाध्य हुने देखिन्छन्।

यो पनि: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad